सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा चारवटा अत्याधुनिक स्मार्ट शौचालय सञ्चालनमा ल्याएको छ। सार्वजनिक शौचालयलाई सफा, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित निर्माण गरिएका यी शौचालयले नगरको सरसफाइ व्यवस्थापन र सार्वजनिक सेवामा नयाँ अभ्यासको सुरुआत गरेको नगरपालिकाले जनाएको छ।
वडा नं. १ शीतलपाटीस्थित शिवजन माध्यमिक विद्यालय मा निर्माण गरिएको स्मार्ट शौचालयको बिहीबार औपचारिक उद्घाटन गर्दै नगर प्रमुख प्रकाश भण्डारी ले आधुनिक सार्वजनिक शौचालयको अवधारणालाई नगरभर विस्तार गरिने बताउनुभयो। उहाँले सार्वजनिक स्थान तथा विद्यालयहरूमा गुणस्तरीय सरसफाइ सेवा विस्तार गर्नु स्थानीय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो।
नगरपालिकाका अनुसार परम्परागत सार्वजनिक शौचालयलाई दुर्गन्धित, अस्वच्छ र आधारभूत सुविधाविहीन स्थानका रूपमा बुझिने धारणा परिवर्तन गर्न स्मार्ट शौचालयको अवधारणा अघि सारिएको हो। आधुनिक प्रविधि र सरसफाइ व्यवस्थापनलाई जोड दिँदै निर्माण गरिएका यी शौचालय प्रयोगकर्तामैत्री तथा स्वास्थ्य सुरक्षामुखी रहेका छन्।
हाल स्मार्ट शौचालय श्री त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङ, श्री त्रिभुवन जनता माध्यमिक विद्यालय मार्के तथा अटो भिलेज पार्कमा र विहिवार देखी शिवजन माध्यमिक विद्यालय शीतलपाटीमा सञ्चालन रहेका छन्। यी संरचनाले विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारणलाई स्वच्छ र सुरक्षित वातावरणमा सेवा प्रदान गरिरहेका छन्।
नगरपालिका तथा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत शीतलपाटीस्थित शिवजन माध्यमिक विद्यालयमा करिब १ करोड २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको स्मार्ट शौचालयलाई विद्यालयस्तरमै नमुना पूर्वाधारका रूपमा हेरिएको छ। उद्घाटन कार्यक्रममा नगर प्रमुख भण्डारीले यस्ता संरचनाले विद्यालयको सरसफाइ, स्वास्थ्य तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक गायीका पिएम ले आधुनिक प्रविधियुक्त शौचालय सञ्चालनपछि विद्यार्थी, शिक्षक तथा अभिभावक उत्साहित भएको बताउनुभयो। उहाँका अनुसार करिब १३ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्वच्छ र व्यवस्थित शौचालयको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो। “अन्य शौचालयको तुलनामा यो धेरै सहज, सफा र व्यवस्थित छ। यसले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो।
विद्यालयकी विद्यार्थी सुनिता बोहरा ले स्मार्ट शौचालय प्रयोगपछि आफू निकै खुशी भएको बताउनुभयो। विशेषगरी छात्राहरूका लागि सेनिटरी प्याड डिस्पोज गर्ने व्यवस्थाले आफू प्रभावित भएको उहाँको भनाइ छ। “यस्ता सुविधा राम्रो होटल वा रेस्टुरेन्टमा मात्र देखेको थिएँ, अब आफ्नै विद्यालयमा यस्तो आधुनिक र व्यवस्थित शौचालय पाउँदा धेरै खुशी लागेको छ,” उहाँले भन्नुभयो।
स्मार्ट शौचालयका विशेषता
स्मार्ट शौचालयमा आधुनिक प्रविधिको व्यापक प्रयोग गरिएको छ। धारा र बत्तीमा सेन्सर प्रणाली जडान गरिएकाले हातले छुनु नपर्ने व्यवस्था गरिएको छ। यसले सरसफाइ कायम राख्न सहयोग गर्नुका साथै पानी तथा विद्युत्को अनावश्यक प्रयोगसमेत कम गर्ने अपेक्षा गरिएको छ।
महिलाहरूका लागि सेनिटरी प्याड भेन्डिङ मेसिन, प्रयोग गरिएका प्याड सुरक्षित व्यवस्थापन गर्ने मेसिन, हात सुकाउने उपकरण तथा प्रशस्त पानीको सुविधा उपलब्ध गराइएको छ। साथै, शौचालयलाई महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री बनाइएको नगरपालिकाले जनाएको छ।
दीगो पानी व्यवस्थापनलाई ध्यानमा राख्दै सबै स्मार्ट शौचालयको छानाबाट आकाशे पानी सङ्कलन गर्ने प्रणालीसमेत जडान गरिएको छ। यसले पानी संरक्षण तथा वातावरणमैत्री अभ्यासलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको छ।
नगरपालिकाले आगामी दिनमा सार्वजनिक सेवा केन्द्र, बजार क्षेत्र तथा थप विद्यालयहरूमा समेत यस्ता स्मार्ट शौचालय विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३