काठमाडौं : सरकारले बारा र पर्सामा समुदायस्तरमै फैलिएपछि हैजाविरुद्धको खोप खुवाउने तयारी गरेको छ ।
हैजा नियन्त्रणको लागि १० लाख डोज खोप ल्याएर बारा र पर्साका नागरिकलाई खुवाउने तयारी गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले सीआईएनसँग कुरा गर्दै यो हप्ता खोप ल्याउने जानकारी दिनुभयो ।
एक हजारभन्दा धेरै नागरिकमा हैजा फैलिएकाले प्रतिकार्य खोप अभियान दसैं लगत्तै चलाउन लागिएको उहाँको भनाइ छ । उहाँका अनुसार बाराको एउटा र पर्साको सबै पालिकाका नागरिकलाई हैजाविरुद्धको खोप लगाउने तयारी गरिएको हो । एक वर्षभन्दा माथिका सबैजनालाई खोप दिइने छ ।
अस्पतालमा उपचार गराइरहेका, अरु रोगको उपचार गराइरहेका र सिकिस्त विरामीलाई भने खोप दिइने छैन । दसैं लगत्तै घरघरमै गएर खोप दिने योजना बनाइएको डा. गौतमको भनाइ छ ।
दस अगाडिमात्रै खोप नेपाल आउने भएकाले बिदा सकिएलगत्तै खोप दिने तयारी गरिएको हो । यो खोपको प्रभावकारिताले शरीरमा हैजाविरुद्ध लड्नसक्ने क्षमता बढाउने चिकित्सकको भनाइ छ ।
खोप निशुल्क हुनेछ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२