काठमाडौँ । दिउँसोभन्दा राति पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।
राति मनसुन सक्रिय हुने भएकाले दिउँसोभन्दा पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले गएराति १२ घण्टामा बागमती र गण्डकी प्रदेशको एकदुई ठाउँमा ठूलो पानी परेको सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा धेरै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमाना चिसापानीमा १ सय ५ मिलिमिटर पानी परेको छ ।
गण्डकी प्रदेशको गिलुगमा १०१ दशमलव ६ मिलिमिटर पानी परेको छ ।
गण्डकीकै चापाकोटमा ६४ दशमलव ४ मिलिमिटर, बागमतीको धुनीबेसीमा ६६ दशमलव ८ मिलिमिटर तथा कोशीको तिङ्लामा ७० दशमलव ४ मिलिमिटर र तापेथोकमा ६१ मिलिमिटर पानी परेको छ ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
राति गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई, लुम्बिनी र कोशी प्रदेशको एकदुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।
देशको पहाडी भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको पानी पर्ने अनुमान गरिएको छ ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्दा हल्का वर्षा भनिन्छ । यस्तै १० देखि ५० मिलिमिटरसम्म पानी मध्यम वर्षा हो ।
५० देखि १ सय मिलिमिटरसम्म भारी वर्षा, एक सयदेखि २ सय मिलिमिटरसम्म धेरै भारी वर्षा भनिन्छ भने २ सय मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ ।
एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो ।
१० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ। ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ ।
५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ । यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२