सल्यान । सल्यानमा पछिल्लो समय सर्पदंशका बिरामी बढ्दै गएका छन्।
जिल्ला अस्पताल सल्यानमा दैनिक ३ देखि ५ जनाभन्दा बढी अस्पतालमा आउने अस्पतालका आपतकालीन स्वास्थ्य सेवा प्रमुख जिवन पुनले बताउनुभयो ।
अस्पतालमा आउनेमध्ये कुनै गम्भीर अवस्थामा अस्पताल आईपुग्नेगरेको उहाँको भनाइ छ । जसमा धेरैजसो हरियो सर्प, गोमन वा करेतको टोकाइका हुने उहाँको भनाइ छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा सल्यानमा ६९ जना सर्पदंशका बिरामीमध्ये एकजनाको मृत्यु भएको थियो। यस वर्ष अहिलेसम्म २१ जना घाइते भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका तथ्याङ्कअनुसार २०८०/८१ मा देशभर ९ हजार १२० जनालाई सर्पले टोकेको थियो, जसमा करिब एक सय जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको अनुमान छ।
चिकित्सकका अनुसार जेठदेखि भदौ महिनासम्म सर्प खाना खोज्न बाहिर निस्कने भएकाले यो समय सर्पदंशको जोखिम बढी हुन्छ।
जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जुन बुढामगरका अनुसार विषरहित सर्पले टोक्दा सुन्निने, घाउ हुने र चिलाउनेजस्ता सामान्य लक्षण देखिन्छ। तर, विषालु सर्प दुई प्रकारका हुन्छन् । एउटा रगत पातलो बनाउने (हेमाटोटक्सिक) र अर्को, नसातन्त्रमा असर गर्ने (न्युरोटक्सिक)।

भाइपर सर्पले टोकेमा रगत जम्ने समस्या, सुन्निने, रातो हुने र रगत बग्ने हुन्छ भने गोमन र करेतले टोकेमा स्नायु प्रणालीमा असर पुग्छ । जसले वान्ता हुने, अचेत हुने र श्वासप्रश्वास बन्द हुने खतरा हुने डा. बुढामगरले बताउनुभयो ।
जिल्ला अस्पतालका डा. बुद्धिनाथ शाहका अनुसार सर्पदंशको खोप (एन्टी स्नेक भेनम) जिल्ला अस्पताल र अन्य सामुदायिक अस्पतालहरूमा उपलब्ध छ। जडिबुटी वा धामीझाँक्रीमा भर नपरी सकेसम्म चाँडै अस्पताल ल्याउन उहाँको सुझाब छ ।
प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार गाउँमा अझै पनि धेरैले धामीझाँक्रीमा भर पर्नु र अस्पताल जान ढिलाइ गर्नु सर्पको टोकाईबाट हुने मृत्युको गम्भीर कारण बन्दै आएको छ।
सर्पले टोकेपछि के गर्ने?
सर्पदंशका घटना बढ्दै गएपछि चिकित्सकहरूले तत्काल गर्नुपर्ने र नगर्नुपर्ने उपायबारे जनचेतना फैलाउन आग्रह गरेका छन्।
चिकित्सकका अनुसार सर्पले टोकेपछि दौडिनु वा भाग्नु हुँदैन, यसले शरीरभर विष छिट्टै फैलाउँछ। बरु त्यहीँ बसेर सहयोग माग्नु, टोकेको अंग नचलाउनु र हातखुट्टामा लगाएका घडी, चुरा, औँठी, पाउजु वा पेटी तुरुन्त खोल्नु आवश्यक हुन्छ।
टोकेको ठाउँभन्दा दुई÷तीन इन्च माथि कपडाले हल्का बाँध्दा विषको फैलावट ढिलो हुन्छ। तर बाधेर विष फैलदैन भन्ने सोच्नु गलत हुने चिकित्सकहरु बताउछन् । बिरामीलाई जतिसक्दो छिटो सर्पदंश उपचार केन्द्र वा जिल्ला अस्पताल पुर्याउन चिकित्सकको सल्लाह छ।
अस्पतालमा पुगेपछि बिरामीलाई सान्त्वना दिनु महत्वपूर्ण मानिन्छ, किनकि विरामी डराएको अवस्थामा स्वास्थ्य झन बिग्रिन सक्छ। गोबर लगाउने, ढुङ्गाले घोट्ने, धामीझाँक्रीमा लैजाने, टोकेको माथिल्लो भाग काट्ने वा चुसेर रगत निकाल्ने जस्ता घरेलु उपचार नगर्न चिकित्सकहरूले चेतावनी दिएका छन्।
सर्पदंशबाट कसरी बच्ने?
- घर वरिपरि सरसफाइ राख्ने।
- सर्प देख्दा नचलाउने र टाढा रहने।
- खेतबारी वा घाँस काट्दा बुट र पन्जा लगाउने।
- अँध्यारो ठाउँमा जानु परेमा बत्ती बालेर मात्र जाने।
सरकारले सर्पदंश उपचारका लागि आवश्यक एन्टी स्नेक भेनम सेरम निःशुल्क रूपमा सर्पदंश केन्द्रहरूबाट वितरण गर्दै आएको छ।
सबै सर्प विषालु हुँदैन
नेपालमा देखिने सबै सर्प विषालु हुँदैनन्। चिकित्सकका अनुसार तराईका विभिन्न जिल्ला र मध्यपहाडमा सर्पको प्रजाति धेरै पाइन्छ, तर तीमध्ये केही मात्र खतरनाक हुन्छन्।
नेपालमा पाइने विषालु सर्प मुख्यतः दुई प्रकारका हुन्छन् । न्युरोटक्सिक, जसले नसातन्त्र र मांसपेशीमा असर गर्छ, र हेमाटोटक्सिक, जसले रगत पातलो बनाउँछ।
मधेशमा भेटिने गोमन र करेत, र मध्यपहाडमा पाइने हरियो सर्प विषालु मानिन्छन्। तर, सबै टोकाइमा विष सर्दैन। तथ्याङ्कअनुसार, गोमनको झण्डै ३० प्रतिशत र करेतको करिब ५० प्रतिशत टोकाइमा मात्र विष प्रवेश गर्छ।
चिकित्सकहरूले सर्पको प्रकार पहिचान गर्न कठिन हुने भएकाले, विषालु हो कि होइन भन्ने अनुमानमा ढिलाइ नगरी अस्पताल जान सबैलाई सल्लाह दिएका छन्।
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२