काठमाडौँ । पाकिस्तानमा सञ्चालन भएको नवौँ पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक जितेको छ ।
यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पन्जाब प्रान्तको खारियाँ स्थित नेस्नल काउन्टर टेरोरिजम सेन्टरमा भएको प्रतियोगितामा पाकिस्तानसहित १७ राष्ट्रका ३८ सैनिक टोलीहरूको सहभागिता रहेको थियो ।
उक्त सैन्य अभ्यासमा सहभागी टोलीहरूबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशललगायतका दक्षताहरूको परीक्षण गरिएको थियो ।
सन् २०१६ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र २०२५ मासमेत स्वर्ण पदक प्राप्त गरेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२