सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले गाईभैँसीमा लम्पी स्किन रोग देखा पर्न थालेपछि सतर्कता अपनाउन किसानलाई आग्रह गरेको छ । नगरपालिकाको पशु शाखाका प्रमुख डा. बिमल श्रेष्ठका अनुसार हाल लालबन्दीमा मात्र ४० वटा पशुमा लम्पी स्किन रोग देखिएको छ । हाल वडा नम्बर १, २, ८, १०, ११, १२, १६ र १७ मा रोग देखिएको छ। व्यवस्थित रूपमा पशुपालन गर्ने किसानलाई लक्षित गरेर खोप अभियान चलाइएको छ। एक हप्ताभित्र अधिकांश गाईभैँसीलाई खोप लगाउने तयारी भइरहेको छ।
लम्पी स्किन रोगका लक्षणमा उच्च ज्वरो आउने, छालामा गोटी देखिने, जोर्नी सुन्निने, मासपेशी दुख्ने र खाना नखाने लगायत छन्। यस्ता लक्षण देखिएमा तुरुन्तै पशु चिकित्सकको सल्लाह लिन नगरपालिकाले आग्रह गरेको छ।

लम्पी स्कीन रोग झिगाँ लामखुट्टे जस्ता किराहरू, संक्रमित पशुसँगको प्रत्यक्ष सम्पर्क र गोठको फोहर वातावरणका कारण हुने भएकाले गोठ सरसफाइमा विशेष ध्यान दिन समेत पशु चिकित्सकले सुझाब दिएका छन् । नगरपालिकाले गाईभैँसीमा अनिवार्य खोप लगाउन, गोठमा फिनायल, नुट्राल्लिक्वाइड जस्ता कीटनाशक प्रयोग गर्न र संक्रमित पशुलाई अन्यबाट अलग राख्न आग्रह गरेको छ।
त्यस्तै, मरेको पशुलाई गहिरो खाल्डो खनेर गाड्न, गोठमा नयाँ पशु ल्याउँदा कम्तीमा २८ दिन अलग राखेर निगरानी गर्न र पशु ओसारपसार गर्दा अनिवार्य स्वास्थ्य प्रमाणपत्र प्रयोग गर्न निर्देशन दिइएको छ।

नगर प्रमुख बासुदेव अधिकारीका अनुसार वडावडामा पशु प्राविधिक परिचालन गरी रोगको जोखिम मूल्याङ्कन, खोप अभियान र उपचार कार्य अघि बढाइएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२