बर्दिया । वन्यजन्तु प्रभावितहरूले पाउने क्षतिपूर्तिको प्रक्रिया सजिलो नभएको प्रभावित क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले बर्दियाको मधुवन नगरपालिका २ खैरेनीमा गरेको ‘वातावरणीय न्याय र जबाफदेहीताका लागि गोलघर संवाद’का सहभागीले यस्तो गुनासो गरेका हुन् ।
युएसएआइडी/द एसिया फाउण्डेशनद्वारा सञ्चालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा सञ्चालित ‘वातावरणीय न्याय र जबाफदेहीताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत गरिएको संवाद कार्यक्रमका सहभागीले क्षतिपूर्ति पाउने प्रक्रिया सहज नहुँदा धेरै दुख पाउनुपरेको बताएका हुन् ।
खैरेनीमा विशेष गरी बाँदर, बाघ र हात्तीले स्थानीय बासिन्दालाई हैरान पार्ने गरेको सहभागीले बताएका थिए । बाँदरले लगाएको तरकारी बाली र सुकाएको अन्नबाली खाइदिने, बाघले चराउन लैजाँदा र खोरभित्रै रहेका पनि बाख्रा, सुँगुरलगायत जनावर खाइदिने गरेको गंगापटुवा सामुदायिक वन उपभोक्ता समितिका सदस्य मिना थारुले बताउनुभयो । हात्तीले बेलाबेला आएर घर भत्काइदिने र अन्नबाली खाइदिने गरेको उहाँको गुनासो थियो ।
वन्यजन्तु पीडितले पाउनुपर्ने राहत झन्झटिलो भएको गंगापटुवा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ढिकराम थारुले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरका सुँगुर बाख्रा बाघले मारिदिएको सिफारिस खाता सामुदायिक वन समन्वय समितिमा पठाएको भएता पनि पीडितहरूले अझैसम्म राहत पाएका छैनन् ।”
यस्तै, वनजङ्गल रहेको सडकको छेउमा उज्यालो नहुँदा बाघ, चितुवा लगायतका वन्यजन्तुले आकस्मिक हमला गर्न सक्ने सम्भावना रहेकाले स्थानीय सरकारले सडक बत्ती जडान गरिदिए राहत मिल्ने सहभागीहरूको भनाइ थियो ।
गोलघर संवादको सहजीकरण गर्दै विषय विज्ञ रमेश थापाले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० मा व्यवस्था भएको राहत पाउने प्रक्रिया, राहतको रकम, राहत प्राप्त गर्नका लागि पुर्याउनुपर्ने प्रक्रिया र बिमा सुविधा लिने प्रक्रिया लगायतबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।
गोलघर संवादले मानव–वन्यजन्तु द्वन्द्व प्रभावित समुदायका समस्या र सामाजिक–आर्थिक प्रभावहरूको पहिचान गर्दै समाधानका उपायहरू साझा गर्ने, समुदायलाई अधिकार, जिम्मेवारी, र वकालतका माध्यमबारे सचेत बनाउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा संवादबाट प्राप्त विचार र सुझावलाई दस्तावेजीकरण गरी सम्बन्धित निकायहरूसम्म पुर्याउने उद्देश्य राखेको छ ।
गोलघर संवाद कार्यक्रममा वन्यजन्तु प्रभावित स्थानीय, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, बडघर, किशोरी क्लबका प्रतिनिधि लगायत झन्डै ५० जनाको सहभागिता थियो । संवादको उद्देश्य बारे प्रकाश पार्दै सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले पहिलो चरणमा विभिन्न संवाद कार्यक्रम मार्फत वातावरणीय न्यायका सवालमा सचेतनामूलक अभियान चलाइने र दोस्रो चरणमा सरोकारवाला र प्रभावितहरूवीच सहजीकरण गरी समस्याको समाधान तथा नीतिगत सुधारका लागि पैरवी गरिने बताउनु भयो ।
सीसीएनका अनुसार संवाद कार्यक्रमहरूको अडियो भिज्युवल कार्यक्रम तयार गरी स्थानीय रेडियो र मल्टिमिडिया माध्यम मार्फत प्रसारण गरिने छ । यो अभियान बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ मा समेत सञ्चालित रहेको सीसीएनले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१, १४:५५