चौथो नेपालगञ्ज फोटो फेस्टिभलको प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । हरेक वर्ष हुँदै आएको फेस्टिभलका लागि यही असोज १७ गतेसम्म देशभरबाट फोटो पठाउन सकिने अन्तरालले जनाएको छ।
फोटो प्रतिस्पर्धा ९ वटा विधामा हुने र हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो । सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ।
फोटोको अन्तिम छनौट फोटो पत्रकार क्लबका पूर्व अध्यक्ष विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टोलीले गर्नेछन। फोटो प्रतिस्पर्धामा रहेका विधाहरुमा समाचार (News), दैनिक जीवन (Daily Life), पर्यटन (Tourism), वन्यजन्तु (Wild Life), खेलकुद (Sports), संस्कृति (Culture), प्रकृति र संरक्षण (Nature & Conservation), कृषि (Agriculture), खुसी र उत्साह झल्किने फोटोहरू नेपाल स्माइल (Nepal Smile) रहेका छन् । हरेक विधामा १ जना व्यक्तिले २ वटा सम्म फोटो पठाउन सक्ने र यसका लागि अन्तरालको अफिसियल वेवसाइट antaral.com.np लगइन गरेर फोटो पठाउन सकिने आयोजकले जनाएको छ ।
‘सिङ्गो नेपाल झल्किने फेस्टिभलको रूपमा नेपालगञ्ज फोटो फेस्टिभललाई सञ्चालन गरिने छ ’ अन्तरालका प्रमुख कार्यकारी शाहले भन्नुभयो ‘यो फोटोग्राफी सम्बद्ध धेरै व्यक्तिको जमघटको साझा फोरम पनि बन्नेछ ।’
पुरस्कार राशि दोब्बर
वर्ष फोटो (Photo of the Year) फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्दै आएकोमा पुरस्कार राशि यस वर्ष देखि दोब्बर बढी वृद्धि गरी ५१ हजार १ सय ११ रुपैयाँ पुर्याइने भएको छ । दोस्रो संस्करणसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटो मात्रै सहभागी गराइएको प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो । राष्ट्रिय स्तरको प्रतिस्पर्धा भएकोले यस वर्षदेखि पुरस्कार राशि वृद्धि गरिएको आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले बताउनुभयो ।
पिपुल्स च्वाइस फोटो अवार्ड यसै गरी फोटो प्रतिस्पर्धामा देशभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटो मध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिने छ । अवार्ड विजेताले ५० हजार १ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट २५ वटा फोटोमध्ये अनलाइन भोटिङबाट सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्ने आयोजक अन्तरालले जनाएको छ ।
दुई दिन आयोजना हुने फेस्टिभलका क्रममा फोटो प्रदर्शनी पनि आयोजना गरिने र प्रदर्शनीमा देशभरबाट छानिएका १ सय ५१ वटा फोटो राखिनेछ । यसका साथै २ दिने फोटोग्राफी कार्यशाला हुनेछ । जसमा ३५ जना सहभागी हुने र प्रतिक्षणका लागि वरिष्ठ फोटो पत्रकारहरूको उपस्थिति रहने छ ।
फेस्टिभल पछि काठमाडाैँसहित देशका विभिन्न स्थानमा फोटोहरूप्रदर्शन गरिनेछ ।
फेस्टिभलको सद्भाव दूतमा चर्चित वाइल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१, १५:४८