काठमाडौँ । नेपालमा एक सय ४२ जात जाती बसोबास गर्छन् भने, एक सय २४ भाषा बोलिन्छ । तथ्याङ्कले पुष्टि गर्छ, नेपाल जातीय र भाषिक विविधतासहितको देश हो । सद्भाव र सहकार्यले विभिन्न जाती र भाषाका मानिसलाई एउटै सूत्रमा बाँधेको छ । पछिल्ला दिनमा कृषि सहकारीमा जोडिएपछि फरक–फरक समुदायका मानिसबिच घुलमिल र आत्मीयता झनै बढेको छ ।
कपिलवस्तुको रनगाई, थारु समुदाय बहुल किसान बस्ती हो । बस्तीमा हिजो आज अन्य समुदायका मानिस पनि सराबरी भएका छन् । अलि पहिलेदेखि यहाँ बस्न थालेका पहाडी समुदायका मानिस थारु भाषा संस्कृति र रहनसहनमा मज्जैले घुलमिल भएका छन् । उनीहरू थारु भाषामा मज्जाले गफिन्छन् । ३० वर्षअघि गुल्मीबाट कपिलवस्तु झरेका नेत्रप्रसाद भट्टराईलाई थारु भाषा बोल्न कुनै समस्या छैन । उहाँ भन्नुहुन्छ, ‘मानिसहरू नजिक हुने रहेछन्, मेलापात र अर्म पर्मको लहरो समातेर ।’
कामले नजिक बनाएका दुई समुदायको सम्बन्धलाई अझ कसिलो बनायो, सहकारीको धागोले । जहाँ नियमित भेटघाट हुन थाल्यो । छलफल र बहस हुन थाले । अनि मन माझामाझ गर्ने थलो पनि बन्यो, सहकारी । शम्भु थारु र चूडामणि दर्जीलाई नजिकिएको भएको सहकारीको आँगनमै हो ।
सहकारीले दुई समुदायको बिचमा पुलको काम गरेको छ । त्यही पुलबाट थारु र पहाडी समुदायका सुखदुख, ओहोरदोहोर गर्छन् । ४७ वर्षकी दुर्गा अधिकारीको अनुभवले पनि यस्तै भन्छ ।
सकिन लागेको साउन महिनाको मध्य दिउँसो, गर्मी निक्कै बढेको छ । मिना बेल्बासेको घरमा टोलभरिका महिला भेला भएका छन् । उनीहरूबिच तिज कसरी मनाउने भनेर सरसल्लाह चल्दै छ । सनित्री थारु तिजका गीत मज्जाले गाउनुहुन्छ । पहाडी समुदायसँगकै सङ्गतले उहाँलाई तीजका गीतमा अभ्यस्त बनाएको हो । पहाडी समुदायका महिलाले पनि थारु भाषाका गीत उस्तै मज्जाले सुनाउँछन् । हाम्रो प्रस्तावमा मिनासहितका महिला भाका भर्न तयार भइहाले ।
व्यावसायिक कृषिलाई मध्यनजर गर्दै सिमिट नेपाल नामक परियोजना केही वर्षअघि गाउँ पस्यो । जसले आधारभूत बचत तथा ऋण सहकारी संस्थालाई समात्यो र किसानलाई खेतीपातीका कुरा सिकायो । यसै क्रममा दुई समुदायबिच मल पानी र अन्नबालीको कुरा मात्रै होइन, संस्कृति र भाषाका कुरा आदान प्रदान भए । जसले रनगाईका बस्तीमा सद्भाव र सहकार्यको इन्द्रेणी रङ भरिदिएको छ । सहकारीका व्यवस्थापक तोलेश्वर थारु, सहकारीकै कारण दुई समुदायबिच राम्रो घुलमिल भएको अनुभव सुनाउनुहुन्छ ।
झन्डै पाँच हजार जनसङ्ख्या रहेको बुद्धभुमी–३ रनगाईमा, आधा जति थारु समुदायको बसोबास छ । वडाध्यक्ष गोविन्दप्रसाद आचार्य पनि सहकारीको माध्यमबाट, दुई समुदायबिचको सम्बन्ध झनै प्रगाढ बनेको बताउनुहुन्छ । अझ सिमिट नेपालका कार्यक्रमले वडामा व्यावसायिक किसान र कृषि उत्पादन बढेको उहाँको भनाई छ ।
देशभर रहेका झन्डै ३१ हजार सहकारीमध्ये आधा जतिको अवस्था हुनुपर्ने जस्तो राम्रो छैन । कतिपय त बन्द भएका छन् । लाखौँ बचतकर्ताको अरबौँ बचत रकम के हुने हो ? यसै भन्न सकिने अवस्था छैन । यसको छानबिनका लागि संसदीय विशेष समिति नै गठन गरिएको छ । तर रनगाईको आभारभूत बचत तथा ऋण सहकारी, स्थानीय किसानलाई खेतिपाती र प्रविधि सिकाउने माध्यम मात्रै होइन, थारु र पहाडी समुदायबिचको सुमधुर सम्बन्धको आधार पनि बनेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१, १६:०३