काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङ्वुङको डाँडागाउँ टोलमा विस्फोट हुँदा दाजु बहिनीको मृत्यु भएको छ ।
विस्फोटमा परी डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु छिमेकी ज्ञानबहादुर राईको घरमा खेल्न गएको बेला विस्फोट भएको थियो । विस्फोटमा ज्ञानबहादुरका छोरा १० वर्षीय पवन राई घाइते भएका छन् ।
पवनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विस्फोटमा घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा थप उपचारका लागि झापाको बी एन्ड सी अस्पतालमा पुर्याउँदासम्म दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले ज्ञानबहाुर राई बस्दै आएको माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा विस्फोट भएको हो । आइतराजको घरमा द्वन्द्व कालमा राखिएको 'ग्रिनेड' विस्फोट भएको हुनसक्ने प्रहरी र स्थानीयबासिन्दाले आङ्कलन गरेका छन् ।
घटनास्थलमा भेटिएको अर्को ग्रिनेडलाई निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१, १४:५९