काठमाडौँ । सद्भावनाको पर्व होली, आज पहाडी क्षेत्रमा रङग खेलेर मनाइँदैछ ।
फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व भोलि तराईमा मनाइन्छ । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने परम्परा छ । हिन्दू धार्मिक विश्वासका अनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् ।
रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा पनि होलीपर्व मनाउने गरिन्छ ।
होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा रणनीति बनाएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चार सयभन्दा बढी प्रहरी कर्मचारी खटाइएको छ ।
अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने नियमलाई कडाइका साथ पालना गरिने मैनालीले बताउनुयभो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालका अनुसार आज र भोलि खेलिने होली मर्यादित बनाउन देशभरमा २९ हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०, ०९:४६