काठमाडौँ । किसानसँग सम्बन्धित सबै संघसंस्थाहरूले किसानको हकहितका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
सबै राजनीतिक दलका किसान संगठनका प्रतिनिधि र राष्ट्रिय कृषक समूह महासंघका पदाधिकारीहरूले सरकारबाट पछिल्लो समय किसानलाई उपेक्षा गरिएकाले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
नेपाल राष्ट्रिय कृषक समूह महासंघ नेपालको १३ औं स्थापना दिवसको अवसरमा भक्तपुरको नगरकोटमा गरिएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वक्ताहरूले अब कृषिका लागि क्रान्तिको आवश्यकता रहेको बताए ।
सामुदायिक वनलाई अव कृषि र उत्पादनसँग जोडेर समुदायलाई समृद्धितर्फ लैजाने कामलाई अभियानको रूपमा अघि बढाउन आफूहरूले दिवस वनभित्र फलफुलका विरुवा रोपेर मनाएको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताउनुभयो ।
‘जैविक विविधताको संरक्षण, कृषि वनको प्रवद्र्धन’ भन्ने नाराका साथ महासंघ अघि बढेकाले अहिले २ सय वटा कागती र अम्बाको विरुवा भक्तपुरको गंगादेवी सामुदायिक वनमा रोपेर अभियानको सुरुवात गरिएको महासंघका उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
देशैभरि प्रायः भैरहने वृक्षारोपणमा फलफूलको विरुवा रोप्न थालियो भने देशलाई फलफूलमा आत्मनिर्भर बनाउन सक्ने र समुदायलाई पनि समृद्धितर्फ डोराउन सकिने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनुभयो ।
वनभित्र कृषिलाई घुसार्ने काम गरेर कृषक समूह महासंघले सामुदायिक वन उपभोक्तासँग सहकार्यको थालनी गरेकोमा खुसी व्यक्त गर्दै अब वनबाट समुदायले लाभ लिने समय छिट्टै आउने सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले घोषणा गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०, ०९:५१