यो आकाश हो
घाम निलेर बसेको छ
बसेको छ पानी निलेर
कहीँ कतै देख्न सक्नुहुन्छ
सातै रङ्गका सपनीका इन्द्रेणी
इन्द्रेणीले भर्न नसकेका रङ्हरू
सबै सबै पोतेर बसेको छ आकाश
बादलका तेलचित्रहरूको क्यानभासमा पोतेर
तपाईंले टेकेको जमिन
अटल बसेको छ आकाश
आकाशलाई के छ र
तपाईंका रिस,अहकांर, पापसँग
तपाईंका खुशी, उन्माद, उल्लाससँग
आकाशले घाटबाट तपाईंको आँसु निलेको छ
आकाशले घाँटीबाट तपाईंको हाँसो निलेको छ
तपाईं चल्दै गर्दा तपाईंको श्वास निलेको छ
तपाईं जल्दै गर्दा तपाईंको बाफ निलेको छ
आकाशलाई के छ र
तपाईंका माया,प्रेम,आस्थासँग
तपाईंका आवेग, कलह, ब्यथासँग
कँही देख्नु भयो होला
रात बोकी हिँड्ने आकाशले घाम बोकेको
दिन बोकी हिँड्ने आकाशले जून बोकेको
आकाशले नबोकेको केही नहुँदो होला
शीतबाट उठेका घामहरू
प्रीतबाट छुटेका नामहरू
प्रश्नबाट छुट्टिएका जवाफहरू
गीतबाट उठेका आवाजहरू
तर
आकाश रङ्गहीन छ, रङ्ग भएर पनि
आकाश संवेदनाहीन छ, वेदना भएर पनि
आकाश सुनसान छ, कोलाहाल भएर पनि
आकाश केही नभए जस्तो छ, सबै सबै भएर पनि
मानिस
आकाश हेर्छ
आकाश भोग्छ
आकाश छुन्छ
तर,
आकाशजस्तै शान्त र सम्पन्न बन्न सक्दैन!
मानिससँग
लोभ छ
घमण्ड छ
रिस छ
अहंकार छ!
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०, १०:१९