काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
विश्वासको मत लिने जानकारी आएपछि दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको र मुख्यमन्त्री शाहले जम्मा ५३ सदस्यीय प्रदेशसभाबाट २७ सांसदको मत पाउनुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रले निर्णय नगरिसकेको अवस्थामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने–नपाउने स्पष्ट भइसकेको छैन ।
विश्वासको मत दिने वा नदिने बारेमा माओवादी केन्द्रमा दुईथरी विचार देखिएको छ ।
संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने माग गर्दै यथास्थितिमा विश्वासको मत नदिने अडानमा हुनुहुन्छ भने केही सांसदले मत दिनुपर्नेमा जोड दिँदै आएका छन् ।
प्रदेशमा देखिएको विवादका बारेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको सुझाव मागिएको र आज बिहान छलफल गरेर निर्णयमा पुगिने सांसद ओम विक्रम भाटले जानकारी दिनुभयो ।
नागरिक उन्मुक्ति पार्टीले भने दुई मन्त्री र एक राज्यमन्त्री पाउने सहमतिपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने तयारी गरेको छ ।
यद्यपी लिखित रूपमा प्रतिबद्धता माग गरिएको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले सीआईएनसँग बताउनुभयो ।
संविधानको धारा १ सय ६८ को उपधार २ अनुसार बनेको सरकार गत माघ २६ मा ढलेपछि सोही दिन उपधार ३ अनुसार सबै भन्दा ठूलो दलको हैसियतले काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९, ०८:४९