काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आज (शुक्रवार) बाट मतदाता शिक्षा सुरु हुँदै छ । देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ । चुनावमा मतदातालाई सक्रिय सहभागी गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।
एक जना स्वयंसेविकाले १५ जनाको समूहमा मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा जानकारी दिनेछन्। हरेक वडामा पुग्न, वडाबारे जानकारी पाउन र स्थानीयसँग घुलमिल हुन स्वास्थ्य स्वयंसेविका सबैभन्दा प्रभावकारी देखिएकाले उनीहरूलाई परिचालन गरिएको आयोगले जनाएको छ ।
यसका लागि हरेक स्थानीय तहले स्वयंसेविकाहरूलाई तालिम दिइसकेका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता शिक्षाका लागि करिब ५० करोड रुपैयाँ खर्च हुने जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९, ०९:५६