काठमाडौँ । सरकारले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सीआईएनको १३ औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई अझै बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पछिल्लो समय सञ्चारमाध्यमले जवाफदेहिता र उत्तरदायित्व बिर्सँदै गएको भन्दै उहाँले विश्वसनीय सूचना दिन तथा समाज परिवर्तनतर्फ लाग्न पनि सबै सञ्चार माध्यमलाई अनुरोध गर्नुभयो ।
सीआईएन दक्षिण एसियाकै ठूलो नेटवर्क हुनु गर्वको विषय भएको बताउँदै उहाँले समाजिक उत्थानको लागि पनि सूचना जोड्नुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक रेडियोले निरन्तरत सूचना दिएकै कारण सर्वसाधरणमा चेतनाको स्तर बढेको पनि मन्त्री कार्कीको भनाइ थियो ।
कार्यक्रमा सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले नेपालमा २०४९ सालमा राष्ट्रिय प्रशारण ऐन् आएको भए पनि समय अनुसार संसोधन नहुँदा समस्या भएको बताउनुभयो ।
पछिल्लो समय भएको विकासलाई ऐनले समेट्न नसक्दा समस्या भएको उहाँको भनाइ छ ।
२०५२ सालमा आएको राष्ट्रिय प्रसारण नियमावलीले धेरै विषय समेट्न सकेको छैन । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले यसपटकको निर्वाचनको समयमा रेडियोहरूले आचरसंहिता उल्लङ्घन कम गरेको र यो सकारात्मक भन्दै आगामी दिनमा समाचार सामग्रीहरूमा थप सुधार गर्दै जान सुझाब दिनुभयो ।
एक पक्षलाई बोक्ने प्रवृत्ति त्याग्न पनि उहाँले सबै सञ्चारमाध्यमलाई सुझाव दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सकारात्मक समाचारहरूलाई प्राथमिकतामा राख्न सुझाब दिनुभयो ।
अहिले सामाजिक सञ्जालमा भ्रमणपूणर् समाचारहरू धेरै आउने गरेको भन्दै सामुदायिक रेडियोहरूले त्यसलाई चिर्दै सही, सत्य समाचार दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले नेपालको भौगोलिक विविधताका कारण पनि रेडियोहरूको भूमिका महत्वपूणर् रहने बताउनुभयो ।
नागरिकको चेतना अभिवृद्धिको लागि सामुदायिक रेडियोको भूमिका महत्वपूणर् रहेको उहाँको भनाइ छ ।
अकोराबका पूर्व अध्यक्ष मीनबहादुर शाहीले दोहोरो सूचना प्रणाली विकास गर्न सीआईएन सुरू गरिएको भए पनि सुधार्नुपर्ने विषय थुप्रै भएको बताउनुभयो ।
उहाँले सरकारलाई फ्रिक्वेन्सी सीमित गर्न ध्यानाकर्षण गराउँदै निजी र सामुदायिक रेडियोहरूलाई पारदर्शी बनाउन पनि अनुरोध गर्नुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) अध्यक्ष अर्जुन गिरीले सीमित स्रोतसाधनका बीच पनि सीआइएनले सर्वसाधरणलाई सुसूचित गर्न गरेको कामको प्रशंसा गर्दै अबको मुद्दा शान्ति स्थापितमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सामुदायिक रेडियोहरूको लागि छुट्टै नीतिको आवश्यक रहेको बताउँदै सीआईएन एक अब्बल रेडियो नेटवर्क बनेको उहाँको भनाइ रहेको थियो ।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले योजक, विश्लेषक र आशावादीको भूमिका खेल्न पनि सामुदायिक रेडियोहरूलाई अनुरोध दिनुभयो ।
अर्थविद् चन्द्रमणि अधिकारीले आफूलाई परिवर्तन गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सूचनालाई सम्पत्तिको रूपमा प्रयोग गर्न पनि सुझाव दिनुभयो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन शान्तिपूणर् तरिकाले सम्पन्न गर्न सहयोग गरेकोमा धन्यवाद पनि दिनुभयो ।
विश्लेषक जैनेन्द्र जीवनले नकारात्मक विषयमात्र नभइ सकारात्मक विषयको पनि उठान गर्न सुझाव दिनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९