बझाङ । बझाङको थलारा गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडातर्फ गइरहेको ट्याक्टर थलारा २ कफलफाँडा नजिक पारमुल भन्ने ठाउँमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा थलारा २ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको मृत्यु भएको छ भने चालक खुशीराम चौधरी गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
ट्याक्टर सडकभन्दा झण्डै एक किलोमिटर तल खसेको वडाध्यक्ष रविन्द्र बहादुर खातीले बताउनुभयो । उहाँका अनुसार दुबै जना स्थानीयको घटनास्थलमै मृत्यु भएको छ ।
गम्भीर घाइते चालक कैलालीका खुशीराम चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ ।
दुर्घटनास्थलमा बगडा प्रहरी चौकीको टोली खटिएको छ। उक्त ट्याक्टर नम्बर खुलेको छैन ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२