बझाङ । बझाङ सदरमुकाम वरिपरि सेती नदी र बाहुली खोला बग्छन् । तर यही सदरमुकाममा खानेपानी र बिजुलीको समस्या बर्सेनि दोहरिने गरे पनि समस्या समाधानका लागि सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयबासीको गुनासो छ ।
पाँच वर्ष अगाडि एशियाली विकास बैँकको आर्थिक सहयोगमा नेपाल सरकारबाट साना सहरी खानेपानी योजना अन्तर्गत सदरमुकाम चैनपुरमा खानेपानी योजना निर्माण भयोे ।
यो आयोजनाका लागि २०७६ सालमा ठेक्का भएर २०७७ मा आशिस सीएबी जेवी निर्माण सेवाले काम सम्पन्न गर्यो ।
जयपृथ्वी नगरपालिकाले समेत २ करोडको साझेदारी गरेको चैनपुर साना सहरी खानेपानीमा २१ करोड ७३ लाखको लागतमा निर्माण सम्पन्न भएको यो योजनाको भोपुरस्थित सिमभाडीमा सात लाख क्षमताका चारवटा पानी रिजर्व ट्याङ्कीसहित नदीको पानी फिल्टर गर्ने अन्य प्रविधिसहितका पुर्वाधार बनेका छन् ।
तर विद्युत नहुँदा पानी नआउने समस्याले खानेपानी उपभोक्ताले बारम्बार हैरानी खेप्नुपरिरहेको छ ।
करिब ८ हजार उपभोक्ता निर्भर रहेको यस खानेपानी आयोजनामा लामो समयदेखि एकलौटी समिति कायम रहँदा पनि समस्या बल्झँदै गएको चैनपुरका व्यवसायी रमेश खड्काले बताउनुभयो । सेती नदीको पानी लिफटिङ गरेर खानेपानीमा उपयोग गरिएको बझाङमा यो पहिलो योजना हो ।
यो योजना सम्पन्न भएपछि सदरमुकामवासी खानेपानीको समस्याबाट मुक्त हुने आशा राखेका थिए तर बझाङको सबैभन्दा सुगम मानिएको चैनपुरमा समेत आधारभुत विकास पूर्वधारले समेत यसरी दुःख दिदा त्यहाँका सेवाग्राही हैरान भएका छन् ।
शुक्रबारदेखि खानेपानी अनियमित हुँदा यहाँका व्यापारी तथा सर्वसाधारणलाई झनै समस्या भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१, ११:३२