काभ्रे । काभ्रेको तेमाल गाँउपालिका वडा नम्बर ६ मा सञ्चालन भएको एक दिने स्वास्थ्य शिविरमा ३ सयभन्दा धेरै स्थानीयबासीले जाँच गराएका छन् ।
३ सय १ जनाले शिविरबाट सेवा लिएका छन् । बुधबार भएको शिविरमा स्वास्थ्य जाँचका साथै निशुल्क औषधि वितरण गरिएपछि सेवाग्राही खुसी भएका छन् ।
काभ्रेको धुलिखेल अस्पतालको प्राविधिक सहयोग र तेमाल गाँउपालिकाको आर्थिक सहयोगमा तेमाल गाउँपालिका वडा नम्बर ६ ले शिविरको आयोजना गरेको हो ।

शिविरमा धुलिखेल अस्पतालका विशेषज्ञ चिकित्सकसहित १० जनाको टोली खटिएको थियो ।
ठूलो पर्सेल स्वास्थ्य चौकीमा भएको शिविरमा तेमाल गाउँपालिका ६, ७, ८, ९ लगायत विभिन्न स्थानबाट सेवाग्राही जचाउन आएको वडा नम्बर ६ का अध्यक्ष बिकुलाल तामाङले जानकारी दिनुभयो ।

आर्थिक रूपले विपन्न आफू जस्ता नागरिकलाई यो शिविरले ठूलो सहयोग गरेको स्थानीय मनमाया मगरले बताउनुभयो ।
स्त्री रोग, हाडजोर्नीको समस्या लगायतको परीक्षण र औषधि वितरणले यहाँका महिलाहरूलाई धुलिखेल वा काठमाडौँ जानुपर्ने बाध्यता टरेको शिविरमा सहभागी तेमाल ८ का एक महिलाको भनाइ छ ।

६ वर्षदेखि स्त्री रोगसम्बन्धी समस्याबाट आफू पीडित भएको र यो समस्याको बारेमा परिवारका सदस्यलाई समेत भन्न नसकेको तर जाँचपछि आत्मविश्वास बनेको उनले बताइन् ।
‘शिविरमा आएर परीक्षण गर्न पाउदा खुसी लागेको छ । गाउँघरमा रहेर रोग सहेर बस्ने महिलाहरूका लागि बेलाबेलामा यस्तो शिविर गर्दै जानुपर्छ ।’ उनले थपिन् ।
चिकित्सकहरूका अनुसार शिविरमा आएका अधिकांशमा हाडजोर्नी सम्बन्धी समस्या देखिएको छ र औषधि वितरण गर्नुका साथै थप समस्या भएमा जाँचका लागि आउन आग्रह गरिएको छ ।
पाठेघरको क्यान्सरको जाँच गरिएका मध्ये १ जनालाई थप जाँचका लागि अस्पतालमा आउन भनिएको स्त्री रोग विशेषज्ञ डा सुमनराज ताम्राकारले जानकारी दिनुभयो ।
धुलिखेल अस्पतालको स्त्रीरोग विभाग प्रमुख डा सुमनराज ताम्राकार । शिविरको औपचारिक उद्घाटन कार्यक्रममा तेमाल गाँउपालिकाका अध्यक्ष सलामसिंह तामाङले शिविर सञ्चालनमा रेडियो रोशी र सीआईएनको जानकारी गराउने, जिम्मेवार बनाउने भूमिका महत्वपूणर् भएको भन्दै प्रशंसा गर्नुभयो ।
‘स्थानीय सरकार आएको महसुस गराउने अभियानको रूपमा शिविरलाई लिइएको छ । यसबाट गाउँघरमा रहेका नागरिकलाई फाइदा पुगेको छ ।’ अध्यक्ष तामाङले भन्नुभयो ।
समापन समारोहमा गाँउपालिकाका उपाध्यक्ष एंव न्यायिक समिति संयोजक दुर्गामाया तामाङले आफूहरूको दायित्व नै नागरिकलाई सेवासुविधा पुर्याउनु भएको उल्लेख गर्दै आगामी दिनमा महिलाको स्वास्थ्य सुधारका लागि पनि काम गर्न तयार रहेको बताउनुभयो ।
तेमाल गाँउपालिकाका उपाध्यक्ष एंव न्यायिक समिति संयोजक दुर्गामाया तामाङ।धुलिखेल अस्पतालका स्त्री रोग विभाग प्रमुख ताम्रकारले गाँउगाँउमा आएर सेवाग्राहीलाई सेवा दिने अवसर पाएकोमा आफू लगायत सबै टिमलाई खुसी लागेको धारणा राख्नुभयो ।
आगामी दिनमा पनि स्थानीय सरकारसँग र सरोकारवाला निकायको समन्वयमा जिल्लाको अरु स्थानमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको उहाँको भनाइ छ ।
वडाध्यक्ष तामाङले स्वास्थ्य, शिक्षा लगायतका विषयमा सकभर राम्रो काम गर्ने आफ्नो उद्देश्य पूरा गर्नका लागि स्वास्थ्य शिविर थप माध्यम बनेको विचार व्यक्त गर्नुभयो ।
‘बाँकी समयमा पनि यस क्षेत्रका नागरिकको सुविधाका लागि काम गर्न तयार छु । स्वास्थ्य चौकीका लागि एम्बुलेन्स ल्याउनका लागि सरोकारवाला निकायमा कुरा राखेको छु।’ अध्यक्ष तामाङले भन्नुभयो ।
तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङ दायाँबाट चौथो, तेमाल ६ का अध्यक्ष विकुलाल तामाङ। दायाँबाट पहिलो । शिविर समापन कार्यक्रममा शिविर सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै रेडियो रोशीका शोभा हुमागाईँ, सीआईएनका लिलप्रकाश चन्द, धुलिखेल अस्पताल र तेमाल गाउँपालिकाको स्वास्थ्य शाखालाई प्रशंसा-पत्र प्रदान गरिएको छ ।
तीन महिनाअघि रेडियो रोशीको समन्वयमा सीआईएनले ठूलो पर्सेलमा स्वास्थ्य समस्या रहेको बारेमा रिपोर्टिङ गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालनका लागि स्थानीय सरकार अनि धुलिखेल अस्पतालसँग समन्वय सुरु गरेको थियो ।
त्यहाँको स्वास्थ्य समस्याका बारेमा कार्यक्रम 'जीवन रक्षा' मा भएको छलफलमा चाँडै शिविर चलाउने सहमति भए पनि कोरोना महामारीका कारण तीन महिना ढिलो भएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८