काठमाडौं । सोलुदुधकुण्ड नगरपालीका ३ फलामखानीका बदमबहादुर विश्वकर्माको १२ वर्ष कतार र मलेसियामा बित्यो । गाउँ फर्किएपछिका दिन भने पुर्ख्यौली पेसाको संरक्षणमा बितिरहेका छन् । ओखलढुगांको रगनीमा धातु सम्बन्धि उद्योग सञ्चालन गरेर उहाँले विदेशकोभन्दा दोब्बर आम्दानी गरिरहनुभएको छ ।
तामाखानीका लक्ष्मण घतानी बहराइनमा ५ बर्ष विताएर ४ वर्षअघि फर्कनुभयो । हिजोआज भने उहाँ तामा, पितल लगायतका धातुजन्य सामाग्री उत्पादनमा लाग्नु भएको छ ।
धातुजन्य सामग्रीको माग बजारमा बढेको छ । भएको सीपलाई ब्यवहारमा उतान सक्ने हो भने नेपालमा पनि सम्भावना देख्नुहुन्छ १० वर्ष साउदीमा बसेर फर्कनु भएका कृष्ण बहादुर विश्वकर्मा । विदेशमा १० बर्षको कमाई २ बर्षमा गनृ सकिने उहाँको अनुभव छ ।
रोजगारीका लागि भन्दै गाउँघरका युवा विदेशिने क्रम बढेको छ । कतिपय आफ्नै रुचिले जान्छन् भने कतिपय अर्काको देखासिकी र लहलहैमा लागेर पनि जान्छन् । तर विदेशमा जाँदा लाग्ने लगानी र परिश्रम स्वदेशमै गर्दा राम्रो आम्दानी गर्न सकिने व्यवसायी जीतबहादुर विश्वकर्मा बताउनुहुन्छ ।
परम्परागत पेसा र व्यवसाय सङ्कटमा पर्दै गएको विवरण सार्वजनिक भइरहेका बेला सोलुखुम्बुमा भने दलित समुदायका युवा पुख्र्यौली व्यवसायमा रमाइरहेका छन् । वैदेशिक रोजगारीबाट फर्केका युवाहरू परम्परा मात्र धानेका छैनन्, आम्दानी पनि गरिरहेका छन् ।
परम्परागत पेसा र व्यवसायको संरक्षण अनि आधुनिकिकरणका लागि भन्दै स्थानीय सरकारहरूले पनि बजेट छुट्याउने गरेका छन् । त्यस्ता कार्यक्रमले लक्षित समुदाय लाभान्वित भए न भएको बारेमा जानकारी राख्नेतर्फ पनि सरोकारवालाले ध्यान भने जान सकेको देखिदैन ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५, ०८:१८