मनाङ । सशस्त्र प्रहरी बल नेपालका २२ जना टोलीले चुलु फार ईष्ट हिमाल सफलतापूर्वक आरोहण गरेका छन्।

सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङमा सञ्चालन भइरहेको उच्च भुभाग खोज तथा उद्धार तालिमका प्रशिक्षक र प्रशिक्षार्थीहरूले यो उपलब्धि हासिल गरेका हुन्। टोलीको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाले गर्नुभएकाे थियाे।

४ जना प्रशिक्षक, १८ जना प्रशिक्षार्थी र २ जना शेर्पा गाइडसहितको टोलीले बैशाख २९ गते बिहान ६:४५ बजे ६,०३८ मिटर अग्लो हिमालको सफल आरोहण गरेको हो।

टोली बैशाख २७ गते ङिस्याङ गाउँपालिका ३ चुलुबाट प्रस्थान गरेको थियो। त्यसपछि बैशाख २८ गते राति ११ बजेबाट आरोहण सुरु गरिएको थियो।

यो आरोहणले सशस्त्र प्रहरीको उच्च हिमाली उद्धार क्षमतामा थप मजबुती आएको र भविष्यमा आपतकालीन उद्धार कार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ।