काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातको आरोपमा ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) हुन्।
प्रहरीकाअनुसार स्मार्ट टेलिकम प्रा. लि.ले दूरसञ्चार सेवा सञ्चालनका लागि लिएको अनुमतिपत्र नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले उक्त कम्पनीको सम्पत्ति नियन्त्रणमा लिएको थियो। त्यसपछि सम्पत्ति व्यवस्थापन प्रक्रियामा अनियमितता भएको आरोप लागेको हो।
अनुसन्धानका क्रममा नेपाल सरकारको सम्पत्तिमा हानि पुर्याउने उद्देश्यले काम भएको आशंकामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात मुद्दामा छानबिन अघि बढाइएको छ।
प्रहरीकाअनुसार पाण्डे फरार हुने प्रयासमा थिए। उनलाई कमलामाई नगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गबाट सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको हो।
यस्तै, बैंकले लिलामी सूचना प्रकाशित गर्दा घरधनीलाई तिर्नुपर्ने घरबहाल र विद्युत महशुलबापत करिब ४० करोड रुपैयाँ समावेश गरी बोलपत्र मागेको थियो। तर उक्त रकम संकलन गरेपछि पनि घरधनीलाई भुक्तानी नगरेको आरोप छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३