काठमाडौँ । स्थानीय सरकारका जनप्रतिनिधिहरूले आफ्नो कार्यकालको आधाभन्दा बढी समय बिताइसके ।
तर अझैँ पनि कतिपय जनप्रतिनिधिलाई आफ्नो अधिकार र जिम्मेवारी के हो भन्ने बारेमा जानकारी नै छैन । तीनैमध्येमा पर्छन्, अधिकांश वडा सदस्यहरु पनि ।
रुपन्देहीको सियारी गाउँपालिका वडा न ५ का वडा सदस्य गीता चमारलाई वडामा भएका विवाद र झैझगडा समाधान गर्ने आफ्नो मुख्य काम हो भन्ने लाग्छ । यद्यपी विवाद निरुपणको जिम्मा न्यायिक समितिलाई छ ।
वडाको बैठक बस्ने र निणर्यमा हस्ताक्षर गर्ने बाहेकका अरु काममा गीताको संलग्नता छैन ।
पाचँथरको घिरिङ गाँउपालिका वडा न ३ का इन्द्रमाया नेपालीले वडा अध्यक्षले लगाएको अह्राएको जिम्मेवारी मात्रै आफ्नो काम हो भन्ने बुझ्नुभएको छ ।
वडाले बोलाएको बेलामा बाहेक अरु समय गाउँघरमै बिताउनुहुन्छ । वडा अध्यक्षले भनेपछि हिजोआज विद्यालय निरिक्षण गर्दै आएको उहाँले बताउनुभयो ।
पर्वतको कुश्मा नगरपालिका वडा न ७ का सदस्य प्रशुुराम पुरीलाई लाग्छ कि आफूहरूको जिम्मेवारीका बारेमा कसैले खुलस्त पारिदियोस् ।
रुपन्देही, पाँचथर र पर्वतका मात्र होइन, मुलुकभरका वडा सदस्य आफ्नो जिम्मेवारीका बारेमा लिखित दस्तावेज हुनुपर्ने ठान्छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा न १ का सदस्य रामचन्द्र लामाले आफूले के काम गर्ने हो भन्ने बारेमा कुनै माध्यमबाट पनि हालसम्म नसुेको बताउनुभयो ।
स्थानीय स्वायत्त शासन नियमावली, २०५६ मा वडा सदस्यको कामकर्तव्य नगरपालिका तथा गाउँपालिकाको योजना एवं कार्यक्रम बनाउन अध्यक्ष वा प्रमुखलाई सहयोग गर्ने, वडावासीलाई जानकारी गराउने, प्रमुख तथा अध्यक्षले तोके बमोजिमको काम गर्ने भनिएको छ ।
तर वडा सदस्यहरुको क्षमता अभाव र जनप्रतिनिधीहरु बिचको समन्वय नहुँदा कामविहीन अवस्थामा छन् भन्नुहुन्छ सङ्घीयताविज्ञ डा.सोमलाल सुवेदी ।
स्थानीय सरकार सञ्चालन ऐन् २०७४ मा भने स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाअध्यक्षको काम स्पष्ट पारिए पनि वडा सदस्यको बारेमा विस्तृत खुलाइएको छैन ।
यसैका कारण मुलुकभरमा रहेका करिब ७ हजार वडाका सदस्यहरू आफ्नो जिम्मेवारी पूरा गर्नेभन्दा पनि अध्यक्ष वा प्रमुखको आदेश कुरेर बस्ने गरेका छन् ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७, १७:१२