लम्जुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले नगरभित्रका वडा–वडामा घरदैलो निःशुल्क शिविर सञ्चालन गरेको हो ।
जेष्ठ नागरिकलाई स्वास्थ्यसंस्थामा आउन समस्या हुने भएकाले घरमै सेवा उपलब्ध गराएको नगरपालिका प्रमुख रेमशकुमार पाण्डेले बताउनुभयो । नगरपालिकाले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो ।
दीर्घरोगका औषधि सेवन गर्दै आएका जेष्ठ नागरिकका लागि घरमै जाँच र औषधिको व्यवस्था गरिएको हो । नगरपालिकाले नागरिकका लागि हरेक वर्ष घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख पाण्डेको भनाइ छ ।
स्वास्थ्य शाखा प्रमुख सोतीलाल साहका अनुसार जेष्ठ नागरिक स्वास्थ्य संस्थासम्म हिँड्न समस्या हुने र लकडाउन अर्थात बन्दाबन्दीका कारण औषधि अभाव हुने भएकाले घरमै पुगेर सेवा प्रदान गरिएको हो ।
दीर्घ रोगहरु प्रेसर, सुगर, दम, बाथ, ग्यास्टिकलगायतको औषधि सेवन गर्दै आएका जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरी औषधि दिइएको छ । एउटा वडामा २ देखि ३ दिनसम्म शिविर सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिनुभयो ।
लकडाउनको समय भएकाले सामाजिक दुरी कायम गरी औषधि उपचार गराइएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७