लमजुङ ।
मनाङस्थित चामे गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाकर्मी, कैदीबन्दी र स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
गाउँपालिकाले स्यानिटाइजर, मास्क र पीपीई वितरण गरेको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा सामग्री वितरण गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताउनुभयो ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन गाउँपालिकाले अभियान चलाएको समेत घलेले बताउनुभयो ।
उहाँका अनुसार मनाङस्थित जिल्ला प्रहरी कार्यालय मनाङ, सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङ र नेपाली सेनाको रणदल गुल्म मनाङलाई चार–चार थान पीपीई, पाँच–पाँच थान स्यानिटाइजर, तीन–तीन सय पिस माक्स सहयोग गरिएको हो ।
सातजना कैदीबन्दीलाई सात थान स्यानिटाइजर वितरण गरिएको छ ।
साथै गाउँपालिकाले वडा नम्बर ३, ४ र ५ का स्थानीयलाई प्रतिव्यक्ति तीन–तीन पिस माक्स र एक–एक थान स्यानिटाइजर घरघरमै पुगेर कोरोनासम्बन्धी सचेतनासहित वितरण गरेको सशस्त्र प्रहरी बल नेपाल ३२ नम्बर गुल्म हेडक्वार्टर मनाङका इन्स्पेक्टर सुवास थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य वडामा पनि स्यानिटाइजर र माक्स वितरण गर्ने अभियानलाई तीव्रता दिइने छ ।
यस्तै, मनाङको नारपाभूमि गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नासोँ गाउँपालिकाले पनि कोरोनासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६