बाजुरा । बाजुराको हिमाली गाँउपालिकाले एक बिरुवा बचाउने किसानलाई पाँच किलो चामल दिने भएको छ । गरिबी न्यूनीकरणका लागि खाद्य सुरक्षा कार्यक्रम लागु गर्दै गाउँपालिकाले किसानलाई आत्मनिर्भर वनाउने योजना अघि सारेको हो ।
प्रति बोट ५ किलो चामल उपलब्ध गराउने गरी गाँउपालिकाले यस वर्ष मात्रै ५० हजार २ सय ८१ फलफूलका बिरुवा वितरण गर्ने योजना बनाएको गाँउपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिनुभयो ।
१२ हजार ९ सय १४ दाँते ओखरका बिरुवा प्रत्येक वडाका किसानलाई पुर्याउनका लागि कृषि शाखाले जिम्मा पाएको छ । केही साताअघि मात्र गाँउपालिकाले २३ हजार २ सय ८४ उन्नत जातका स्याउका विरुवा किसानलाई बाँडेको प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर शाहीको भनाइ छ ।
हिमाली गाउँपालिकाका स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाँउपालिकाले अहिले फलफूलका बिरुवा रोप्ने अभियान चलाएको हो ।
गाँउपालिकाको वडा नम्बर १ देखि ७ सम्मका प्रत्येक वडाका किसान लाभान्वित हुने गरी दाँते ओखर, उन्नत जातको स्याउ, सुन्तला, कागती, आँप र अनार लगायतका विरुवा वितरण गर्ने अभियान चलाएपछि किसान पनि खुसी भएका छन् ।
आर्थिक वर्ष २०७६/७७ का लागि खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत हिमाली गाँउपालिकाले ५० लाख रकम विनियोजन गरेको छ ।
यो योजनाले हिमाली गाँउपालिकामा पाँच वर्षभित्र गाँउपालिकालाई हरीयाली गाँउपालिका बनाउनुका साथै फलफूलमा आत्मनिर्भर बन्न र स्वरोजगारीका अवसर सृजना गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
गाँउपालिकामा खेती योग्य जमिन नहुदा भिरालो जमिनको उपयोग गर्न फलफूल खेतीबाटै स्थानीयलाई आत्मनिर्भर बनाउने योजना बनाएको छ ।
विदेश जाने तयारीमा रहेका युवालाई गाँउघरमा रोजगारीको अवस्था सृजना गर्न, गरिबी न्यूनीकरण गर्न, गाँउपालिकालाई फलफूल खेतीबाट आत्मनिर्भर बनाउन र वातावरण संरक्षण गर्ने उद्देश्यले खाद्य सुरक्षा कार्यक्रमलाई जोड दिएको गाँउपालिकाले जानएको छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६