कपिलवस्तु । कपिलवस्तुमा पहिलो पटक व्यावसायिक रुपमा फूल खेती सुरु गरिएको छ । शिवराज नगरपालिका– ५ नौडिहवामा युवाहरुको अगुवाईमा जिल्लामै पहिलो पटक फूल खेती सुरु गरिएको हो ।
स्थानीय ८ युवाले सञ्चालन गरेको ऋग्वेद कृषि फर्मले तिहार र छठलाई लक्षित गरेर यसवर्षदेखि १० कट्ठामा सयपत्री फूलको खेती सुरु गरेको हो ।
शिवराज नगरपालिका– ५ नौडिहवामा युवाहरुको अगुवाईमा जिल्लामै पहिलो पटक फूल खेती सुरु गरिएको हो । ऋग्वेद कृषि फर्ममा तिहार र छठलाई लक्षित गरेर पहिलो पटक १० कट्ठामा सयपत्रीको खेती गरिएको हो ।
फर्ममा ४० लाख रुपैयाँ लगानी भएको फर्मका सञ्चालक युधीर पौडेलले बताउनुभयो ।
पुष्प व्यवसाय गर्नुअघि युवाहरु विदेश गएका थिए । विदेशमा भनेजस्तो काम र आम्दानी नभएपछि युवाहरुले नेपाल फर्किएर फूल खेती सुरु गरेका हुन् ।
अहिले यो व्यवसायबाट राम्रो आम्दानी हुने गरेको छ । १० बर्षसम्म इजरायल बसेर फर्किनुभएका अर्का पुष्पव्यवसायी सन्तोष पन्त २ वर्षअघि नेपाल फर्किएर तरकारी खेती सुरु गरेको र अहिले तिहार र छठलाई लक्षित गरेर फूल खेती गरेको बताउनुहुन्छ ।
व्यवसायीका अनुसार नेपालमा फूल खेतीको राम्रो सम्भावना छ । छोटो सयममै राम्रो आम्दानी पाईने भएपछि युवाहरु यसमा आकर्षित भएका छन् ।
फूल खेती विस्तार गर्न सके भारत लगायत देशबाट आयात हुने फूललाई रोक्न सकिने बताउनुहुन्छ, अर्का किसान कपिल न्यौपाने । फूल रोप्न एकलाख खर्च भएको र यसबाट ३ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको सञ्चालकहरूको भनाइ छ ।
यहाँ उत्पादित सयपत्रीको बुटवल, भैरहवा, पोखरा, नेपालगञ्ज लगायतका स्थानबाट माग आउने गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६