काभ्रे । काभ्रेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । राजधानी काठमाडौंबाट नजिकै भएकाले फूल खेती गर्ने किसानलाई बजारको समस्या छैन ।
काभ्रेको रोशी गाँउपालिका वडा नम्बर ७ का जनार्दन गौतम बाह्रै महिना सयपत्री फूलको खेती गर्नुहुन्छ । तिहारको बेला उत्पादन भएको फूल बजारमा पु¥याउन उहाँलाई भ्याई नभ्याई भयो ।
बनेपा नगरपालिका वडा नम्बर १० जनागालमा पुष्प खेती गर्दै आउनु भएका सुस्मा बस्नेत पनि खेतिमै व्यस्त हुनुभयो ।
काभ्रे विशेष गरी कटफ्लावरले चिनिन्छ । कार्नेशन, जर्बेरा, लिमोनीयम, गुलाफ, जिप्सोफीला, सयपत्री गोदावरी लगायतका फूल किसानले उत्पादन गरिरहेका छन् ।
पुष्प ब्यवसायी संघ काभ्रेका अनुसार हाल व्यक्तिगत र व्यवसायिक गरि साना ठुला ३० वटा भन्दा बढी फार्महरुमा फूल खेति हुन्छ ।
पुष्प ब्यवसायी संघ काभ्रेका अध्यक्ष विरेन्द्र श्रेष्ठ जिल्लामा उत्पादित फूलमध्ये ९० प्रतिशत काठमाडौं जाने गरेको र १० प्रतिशत मात्रै काभ्रेमा खपत हुने गरेको बताउनुहुन्छ ।
जिल्लाको बनेपा, धुलीखेल, पनौती, रोशी, पाँचखाल, बेथानचोक र भुम्लुका विभिन्न स्थानाम फूल खेती हुँदै आएको छ । पुष्प खेती प्रबद्र्धनका लागि कृषि ज्ञान केन्द्र काभ्रेले योजना बनाइरहेको कार्यालय प्रमुख जनार्दन खड्काले बताउनुभयो ।
प्रत्यक्ष र अप्रत्यक्ष गरी तीनसय भन्दा बढीलाई पुष्प खेतीले रोजगारी दिएको छ ।
पुष्प व्यवसायी संघ काभ्रेका अनुसार समग्र पुष्प खेतीमा १५ करोड रुपैयाँको लगानी रहेको छ भने फूलकै कारोबारबाट जिल्लामा वर्षेनी तीन करोड रुपैयाँसम्म भित्रने गरेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६