गोर्खाली रेडियो, पोखरा ।
डोरी बनाउने सीप सिकेपछि पोखराका गुरुङ समुदायका महिलाहरू खुशी भएका छन् ।
आत्मनिर्भर र स्वरोजगार बनाउन स्थानीय तहको आयोजनामा उनीहरूको लागि तालिम सञ्चालन गरिएको हो ।
महिलाहरूले कपाल स्याहार्न प्रयोग गर्ने डोरी बनाउने जोश र जाँगर सिर्जना चोकका गीता गुरुङमा जति थियो, त्योभन्दा धेरै सिकेको सीपका आधारमा स्वरोजगार बन्ने सपनाले उहाँ उत्साहित हुनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘उमेरको कुरा गर्दा म ६२ वर्षको भएँ तर पनि मलाई यो सिक्ने मन भयो ।’ आफूले सिकेको सीप अन्य दिदीबहिनीलाई पनि सिकाउने चाहना रहेको उहाँ बताउनुहुन्छ ।
गुरुङ समुदायका महिला तथा किशोरीका लागि पोखरा महानगरपालिका वडा नं ९ को ५० हजार रुपैयाँ सहयोग तथा तमु धिं नेपाल केन्द्रीय आमा समितिको व्यवस्थापनमा तालिमको आयोजना गरिएको हो ।
तालिममा सहभागी चिसापानीका अस्मी गुरुङ युवाहरुले कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने बताउनुहुन्छ । तमु महिलाहरुलाई उद्दमशीलताको विकासका साथै संस्कृति संरक्षणका लागि तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
वडा अध्यक्ष रामराज लामिछाने उत्पादन भएका सामानलाई बजारिकरणमा पनि सहयोग गर्ने बताउनुहुन्छ । गुरुङ समुदायका महिलाहरू परिवर्तित समयसँगै व्यवसायउन्मुख भएको बेला तालिम लिएपछि झनै खुशी भएका छन् ।
तालिमका प्रशिक्षक आशकाँसी गुरुङ खेर गइरहेको समयलाई उपयोग गर्दै सीप सिक्न सक्दा आम्दानीको बाटो बढ्ने र समयको पनि उपयोग हुने बताउनुहुन्छ ।
तमु धिं नेपाल केन्द्रीय आमा समिति मातहतका पोखराका विभिन्न ४३ क्षेत्रीय समितिमा आवद्ध ५० जनाले तालिम लिएका हुन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६