ललितपुर। आदिवासी महिला तथा अपाङ्गता भएका किशोरीहरूको आवाज सञ्चारमाध्यममार्फत मूलधारमा स्थापित गर्न सामुदायिक रेडियोको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा सञ्चारकर्मी र सरोकारवालाले जोड दिएका छन्।
नेपाल आदिवासी अपाङ्ग महिला संघ (निडवान) को आयोजनामा, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको सहकार्य तथा माइनोरिटी राइट्स ग्रुपको सहयोगमा ललितपुरस्थित अकोराब हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले समावेशी सञ्चारका लागि रेडियोको भूमिका, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरेका हुन्।
कार्यक्रममा अकोराबका कार्यक्रम एसोसिएट दिलासा नेपालले समावेशी सञ्चारमा सामुदायिक रेडियोले खेलेको भूमिकाबारे प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले सामुदायिक रेडियोले स्थानीय समुदायका आवाजलाई राष्ट्रिय बहससम्म पु¥याउँदै आएको उल्लेख गर्दै आदिवासी महिला र अपाङ्गता भएका व्यक्तिका मुद्दालाई थप प्राथमिकता दिनुपर्ने बताउनुभयो।
निडवानकी अध्यक्ष डा. प्रतिमा गुरुङले सञ्चारमाध्यममा अपाङ्गता भएका व्यक्तिलाई अझै पनि दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति रहेको बताउँदै अब उनीहरूको क्षमता, नेतृत्व, आत्मसम्मान र सफलताका कथा उजागर गर्ने पत्रकारिता आवश्यक भएको बताउनुभयो। उहाँले आदिवासी महिला तथा अपाङ्गता भएका व्यक्तिका मुद्दा सञ्चारमाध्यममा अझै पर्याप्त स्थान नपाएकाले समावेशी सञ्चार नीति र अभ्यासलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
छलफलमा सहभागी पत्रकारहरूले पनि आदिवासी, जनजाति महिला तथा अपाङ्गता भएका व्यक्तिका सवालहरू मुख्यधारका सञ्चारमाध्यममा अपेक्षाअनुसार प्राथमिकतामा नपरेको स्वीकार गरेका थिए ।
रातोपाटीका पत्रकार कृष्णसिंह धामीले यस्ता विषयलाई संवेदनशील र गहिरो रूपमा बुझ्न पत्रकारसँग नियमित छलफल, अभिमुखीकरण र समन्वय आवश्यक रहेको बताउनुभयो।
यस्तै, रेडियो नेपालकी पत्रकार मनुका कुँवरले सामुदायिक रेडियोले स्थानीय आवाजलाई राष्ट्रिय बहसमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिका मुद्दालाई अझ प्रभावकारी रूपमा उठाउन सञ्चार संस्था र सरोकारवालाबीच सहकार्य बढाउनुपर्ने धारणा राख्नुभयो।
अकोराबका निर्देशक शिरोमणी ढुंगानाले सामुदायिक रेडियो स्थानीय समुदायको सबैभन्दा नजिकको सञ्चारमाध्यम भएकाले सीमान्तकृत समुदायको आवाजलाई नीति निर्माण तहसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँले आदिवासी, जनजाति, महिला तथा अपाङ्गता भएका व्यक्तिका मुद्दालाई अधिकारमुखी र समावेशी दृष्टिकोणबाट प्रस्तुत गर्न सामुदायिक रेडियो अझ प्रभावकारी रूपमा लागिरहेको उल्लेख गर्नुभयो। साथै, समावेशी सञ्चार प्रवद्र्धनका लागि सञ्चारकर्मीको क्षमता अभिवृद्धि र सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा सहभागीहरूले समावेशी सञ्चार प्रवद्र्धनका लागि साझा कार्ययोजना, सञ्चारकर्मीको क्षमता अभिवृद्धि तथा सामूहिक अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल गरेका थिए।
प्रकाशित मिति: बुधबार, असार २४, २०८३