केशव कोइराला
रेडियो राजापुर एफ्एम् ८८ दशमलब ६ मेगाहर्ज
बर्दिया । बर्दिया जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख २२ गतेसम्म ६ हजार ४ सय ७६ जनाले सुरक्षित आप्रवासन सम्बन्धी सूचना सेवा लिएका छन्। यो सेवा सुरक्षित आप्रवासन (सामि) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमार्फत प्रदान गरिएको हो।
सुरक्षित आप्रवासन (सामि) कार्यक्रम अन्तर्गत चौथो चरण कार्यान्वयन मोडालिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेश व्यवस्थापक विजय ठाकुरले उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो। तथ्यांकअनुसार सबैभन्दा बढी सेवा मधुवन नगरपालिकाका १ हजार १३ जनाले लिएका छन्। त्यसपछि बाँसगढी नगरपालिकाका ९ सय ८७, बढैयाताल गाउँपालिकाका ९ सय ५०, बारबर्दिया नगरपालिकाका ९ सय ४४ तथा गुलरिया नगरपालिकाका ९ सय २१ जनाले सेवा लिएका छन्।
कार्यक्रममा वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी तथा समस्याका ४८ वटा उजुरी परेको उहाँले जानकारी दिनुभयाे। तीमध्ये ३० वटा नेपालमै हुने ठगीका घटना रहेका छन् भने ३ वटा गन्तव्य मुलुकमा हुने ठगीका घटना दर्ता भएका छन्। सामि कार्यक्रममार्फत ११ जनाको उद्धार गरिएको र पीडितलाई २२ लाख ४३ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको जनाइएको छ।
सामी कार्यक्रमका बर्दिया जिल्ला अधिकृत भागीराम चौधरीकाअनुसार वैदेशिक रोजगारीका कारण मनोसामाजिक समस्याबाट प्रभावित ८१ जनाले परामर्श सेवा लिएका छन्। तीमध्ये ३३ जनामा अत्यधिक चिन्ता, २६ जनामा डिप्रेसन तथा १० जनामा आत्महत्या प्रयास वा जोखिम देखिएको उल्लेख गरिएको छ।
राजापुर नगरपालिका नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष, रोजगार शाखाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो। सहभागीहरूले सुरक्षित आप्रवासन सम्बन्धी जनचेतना वडा तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३