बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ टेसनपुरको सुकुम्वासी तथा मुक्त कमैया बस्तीको पहिचान फेएिको छ।
वर्षौँदेखि अभाव र सङ्घर्षमा बाँचेका स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम सुरु भएको हो। कृषि उत्पादन, पोषण, वातावरण संरक्षण र जीवनस्तर सुधारलाई मुख्य आधार बनाएर दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यसहित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को समन्वयमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

मुक्त कमैया, मुक्त कम्लहरी तथा सुकुम्वासी परिवारको बसोबास रहेको ३० घरधुरीको टेसनपुरलाई नमुना गाउँका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेशमा यस्ता कार्यक्रम सुरु हुनु सकारात्मक पहल भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल–भुटान समन्वय अधिकारी केन सिन्जुले वातावरणीय चुनौतीसँग जुध्दै गाउँलाई अग्र्यानिक तथा पोषणयुक्त खाद्य उत्पादनतर्फ उन्मुख गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँले पराल जलाउने परम्परालाई निरुत्साहित गर्दै त्यही परालबाट च्याउ उत्पादन गर्ने सीप स्थानीयलाई सिकाइएको जानकारी दिनुभयो ।
च्याउ उत्पादनपछि बाँकी रहने परालबाट कम्पोष्ट मल बनाउने, पातबाट दुना–टपरी तयार गर्ने जस्ता वातावरणमैत्री गतिविधि पनि सञ्चालन भइरहेको बताउनुभयो ।
टेसनपुर नमुना कृषक समूहकी अध्यक्ष देवी घर्तीका अनुसार तालिमपछि स्थानीय महिलाहरूले एक लाख १० हजार रुपैयाँ बराबरको च्याउ उत्पादन गर्न सफल हुनुभएको छ ।
गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बढैयाताल गाउँपालिका शुद्ध तोरीको तेल, दुग्धजन्य पदार्थ र कृषि उत्पादनका कारण पहिचान बनाउँदै आएको उल्लेख गर्दै नयाँ परियोजनाले स्थानीयको जीवनस्तर अझ माथि उठाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अवसरमा कालिका साना सिकसान सहकारी संस्थालाई आधुनिक कृषि सामग्रीसहितको ‘कस्टम हाइरिङ सेन्टर’ स्थापना प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
नेपाल कृषि सहकारी सङ्घ का केन्द्रीय अध्यक्ष एकराज उप्रेतीले बर्दियाका पाँच सहकारी संस्था एफएओ नेपालसँग साझेदारीमा जोडिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३