काठमाडौं । देशका विभिन्न स्थानमा प्रहरीले लागूऔषध विरुद्ध चलाएको कारबाहीमा ३९ जनालाई पक्राउ गरेको छ।
काठमाडौं, दाङ, ललितपुर, झापा, कास्की लगायतका जिल्लाबाट गाँजा, ब्राउनसुगर, हेरोइन, ट्रामाडोल जस्ता लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। काठमाडौंको तिलगंगाबाट मात्रै करिब २ किलो गाँजासहित एक व्यक्ति पक्राउ गरिएको छ भने टोखाबाट ब्राउनसुगरसहित दुई जनालाई समातिएको छ।
यस्तै दाङ, ललितपुर र झापामा पनि लागूऔषधसहित धेरै व्यक्ति पक्राउ परेका छन्। काभ्रेमा एक दम्पतीको घरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ भने पोखरामा एक महिलाबाट हेरोइन र नगद बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसार र बिक्री वितरण रोक्न देशभर निगरानी कडा बनाएको बताएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
यसैबिच, सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। उक्त युवकले टिकटकमार्फत चिनजान गरी विदेशी उपहार आएको बहानामा रकम असुल्ने गरेका थिए। यसरी उनले एक व्यक्तिबाट करिब २ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
काठमाडौंमा सुन, नगद र मोबाइल चोरीमा संलग्न एक युवक पक्राउ परेका छन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३