काठमाडौँ । उपसभामुख रुवि कुमारी ठाकुरले दाइजोमुक्त विवाह समारोहमा मात्रै सहभागी हुने बताउनुभएको छ ।
विवाह समारोहका लागि थुप्रै निमन्त्रणा आएको जानकारी गराउँदै उहाँले प्राप्त निमन्त्रणामा कतै पनि दाइजोमुक्त विवाह भनेर नलेखिएका कारण जान नसकेको उल्लेख गर्नुभएको छ ।
विवाह समारोहमा सहभागी हुनका लागि दाइजोमुक्त विवाह भनेर निमन्त्रणा पत्रमा लेखिनुपर्ने शर्त उपसभामुख ठाकुरको छ ।
सामाजिक सञ्जालमार्फत एक सन्देश सार्वजनिक गर्दै उहाँले विवाहका नाउमा हुने दाइजो लेनदेनको विरोध गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उपसभामुख ठाकुरले लेख्नुभएको सन्देशः
सबैमा नमस्कार,
हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनैपनि कार्डमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन। यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।
दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ।
यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।
यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं।
अत: विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु।
आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं।
धन्यवाद।
रुवि कुमारी ठाकुर
उपसभामुख
प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३