काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गराउन उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, विपद् उद्धारमा खटिने स्वयंसेवक र विपद् सूचकलाई सम्मान गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी विपद् उद्धारमा सहयोग पुर्याउने समुदाय विपद् स्वयंसेवक र विपद् सूचकलाई सम्मान गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको २५औँ वार्षिकोत्सवको अवसर पारेर महानिरीक्षक अर्यालले सम्मान गर्नुभएको हो ।
उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरीले निर्वाचनको अवधिमा बैतडी जिल्लाको दशरथचन्द नगरपलिका–४ स्थित वीरेन्द्र माध्यमिक विद्यालय साईलेक मतदान केन्द्रमा खटिएर अपाङ्गता भएका तथा वृद्धवृद्धालाई मतदान केन्द्रसम्म बोकी ल्याउने र लैजाने कार्यमा सहयोग गर्नुभएको थियो ।
विपद् स्वयंसेवकले विपद्को समयमा डुवानमा परेकाहरुलाई आफ्नो ज्यानको प्रवाह नगरी जोखिम अवस्थामा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा पुर्याउन भूमिका निर्वाह गर्नुभएको थियो भने विपद् सूचकले विपद्का विभिन्न घटनाहरुमा समयमा नै सशस्त्र प्रहरीलाई जानकारी गराउनुको साथै स्वयं आफूसमेत खटिएर उद्धार कार्यमा सहयोग पुर्याउनु भएको थियो ।
विपद्को समयमा समुदायस्तरबाटै उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले सशस्त्र प्रहरी बल नेपालले देशभर १ हजार १ सय १४ जनालाई विपद् स्वयसेवक तालिम प्रदान गरी समुदाय विपद् स्वयंसेवक तयार पारेको छ ।
सशस्त्र प्रहरी बल नेपालले प्रत्येक वडाहरुमा २५ जनाको दरले विपद् सूचक समूह तयार गरेको छ ।
जस अनुसार देशभरिका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार पारेको हो ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२