काठमाडौँ । हिजो पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकलाई आज अदालतमा पेस गरिने भएको छ ।
गत भदौ २३ र २४ गतेको घटनाका बारेमा छानबिनका लागि गठित गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको सिफारिसका आधारमा प्रहरीले हिजो बिहान ओली र लेखकलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवै नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकाले आज अदालतमा पेश गर्न लागिएको हो ।
प्रहरीका अनुसार थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्ने तयारी भएको छ ।
पक्राउपछि ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । लेखकलाई प्रहरीको २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२