काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।
वरिष्ठ नेता शाह संसदीय दलको नेता चयन भएसँगै प्रधानमन्त्रीमा उहाँको आज शपथग्रहण हुन लागेको हो ।
आज १२ः३४ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीको शपथग्रहण गराउनुहुने गरी राष्ट्रपति कार्यालयले तयारी गरेको छ ।
प्रधानमन्त्रीको शपथसँगै मन्त्रीपरिषद् विस्तार गर्नेबारे रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डोलप्रसाद (डिपी) अर्याल र डा. स्वर्णिम वाग्लेबीच निरन्तर छलफल र परामर्श भइरहेको नेताहरुले बताएका छन् ।
शाहले प्रधानमन्त्रीमा शपथ लिँदा वैदिक–सनातन परम्परा झल्किने गरी १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुले मङ्गल पाठ गर्ने र सात वटा शङ्खबाट शङ्खनाद गरिने तयारी गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२