काठमाडौँ । नेपाली काँग्रसले मध्यपूर्वमा चर्किएको युद्धग्रस्त क्षेत्रमा लाखौँ नेपालीहरुको सुरक्षाका लागि गम्भीरतापूर्वक सक्रिय हुन सरकारको ध्यानाकर्षण गराएको छ ।
हिजो सकिएको केन्द्रीय समितिको बैठकले हर्मुज क्षेत्रको अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल नेपाल ल्याउन पनि माग गरेको छ ।
२०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाहरू बारे न्यायिक जाँचवुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगद्वारा बुझाएको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न सरकारसँग काँग्रेसले माग राखेको छ ।
पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धि तथा नियमित आपूर्ति भइरहेको खाना पकाउने एलपी ग्यास वितरणमा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको उल्लेख गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन र एलपी ग्यासको सहज आपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको पनि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२