सल्यान । सल्यानको शारदा नगरपालिका–५ तलो मार्केमा रहेको श्री जनकल्याण प्राथमिक विद्यालयले छात्रावासमा बस्दै अध्ययन गरिरहेका असहाय तथा विपन्न बालबालिकाको शिक्षामा उल्लेखनीय सहयोग पुर्याएको भन्दै तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
विद्यालयले प्रवेशद्वार (गेट) तथा सरस्वती मन्दिर उद्घाटन तथा सम्मान कार्यक्रमको अवसरमा पत्रकारिता क्षेत्रको माध्यामबाट सहयोगी दाताहरूमार्फत खाद्यान्न तथा नगद सहायता जुटाउन समाचार र सूचनामार्फत महत्वपूर्ण भूमिका खेलेको भन्दै रेडियो शारदामा कार्यरत पत्रकार प्रदीप मगर, रेडियो राप्तीमा कार्यरत बुद्धि पुन र अमृत बुढाथोकीलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
श्री जनकल्याण प्राथमिक विद्यालयले आयोजना गरेको एक कार्यक्रमबीच शारदा नगरपालिकाका नगर प्रमुख प्रकास भण्डारीले उहाँहरुलाई सम्मान प्रदान गर्नुभएको हो ।
विद्यालयका अनुसार सोही सहयोगबाट विद्यालयको मुख्य प्रवेशद्वार तथा सरस्वती मन्दिर निर्माणमा समेत उल्लेखनीय टेवा पुगेको छ ।
जिल्लामै पहिलोपटक विद्यालयमै छात्रावाससहित शिक्षा सेवा सञ्चालन भइरहेको यस विद्यालयमा हाल ३१ जना असहाय बालबालिका बसोबास गर्दै अध्ययन गरिरहेका छन् ।
यसले टाढाका तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाइ समेत शिक्षाको पहुँच दिलाएको विद्यालयले जनाएको छ।
एक समय बन्द हुने अवस्थामा पुगेको विद्यालय अहिले भने विस्तारै पुनर्जीवित हुँदै गएको छ । हाल नियमित रूपमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्या बढेर ९३ पुगेको छ ।
सहायक प्रधानाध्यापक कृष्ण ओलीले सहयोग गर्ने सम्पूर्ण दाता, पत्रकार, सामाजिक व्यक्तित्व तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ सहयोगको अपेक्षा राख्नुभयो।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२