काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनसमर्थनलाई स्वाभाविक भन्दै देशको मूल प्रश्नमा आगामी दिनमा खबरदारी र समर्थन रहने बताउनुभएको छ ।
हिजो भएको निर्वाचनको मतगणना चलिरहँदा रास्वपाका उम्मेदवारले अधिकांश स्थापनमा अग्रता कायम राखेका छन् । यही सन्दर्भमा उपसभापति शर्माले आज सामाजिक सञ्जालमार्फत विचार राख्दै मतदाताको फैसला स्वीकार्य भएको बताउनुभएको हो ।
उहाँले २०६४ सालमा सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको उल्लेख गर्दै रास्वपाको सन्दर्भ पनि सोही अवस्थाबाट अपेक्षित रूपमा आएको बताउनुभएको हो ।
२०७९ सालको चुनावमै रास्वापले राम्रो सङ्केत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको शर्माको भनाइ छ । २०७९ को असारमा गठन भएर मङ्सिरमा भएको चुनावमा रास्वपा चौथो ठूलो दल बनेको थियो ।
रास्वपाप्रतिको चर्को आशा अर्को निराशामा बदलिनु हुन्न भन्दै उहाँले देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहने पनि उल्लेख गर्नुभएको छ l
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२