डोल्पा । हिमाली जिल्ला डोल्पामा माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी परेका छन् ।
जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा नं. ६ को कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी चिसो मौसम र अक्सिजनको कमीका कारण कर्मचारीहरु बिरामी भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निर्वाचनको लागि फोतगाउँ मतदान केन्द्रमा खटिएका जिल्ला अदालतका सहायक कर्मचारी (डिठ्ठा) गोर्ख बहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालय सहयोगी धन बहादुर महतरा तथा तीन निर्वाचन प्रहरी कृष्ण झाक्री, आत्मराम बोहोरा र इन्द्रमान धरला बीरामी परेका हुन्।
बिरामी परेका उनीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ। निर्वाचन प्रहरी त्रिपुरासुन्दरी ५ का ल्हा घर भएका झाक्रीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अक्सिजन समेत दिइएको जनाइएको छ ।
उक्त मतदान केन्द्र जिल्ला सदरमुकाम दुनैबाट पैदल करिब ६ दिनको दूरीमा पर्ने अत्यन्त दुर्गम स्थानमा रहेकाले तत्काल स्वास्थ्य सेवा पुर्याउन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिरामी परेका उनीहरुलाई उद्धारको लागि नेपाली सेनाको हेलीकप्टर सम्बन्धित मतदान केन्द्र पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
उक्त मतदान केन्द्रमा ४० मतदाता रहेका छन् । निर्वाचनको लागि उनीहरुलाई हेलिकप्टर मार्फत फाेतगाउँ मतदान केन्द्रमा पठाइएको थियो।
प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२