इरानले यूएईको जायद विमानस्थलमा आक्रमण गर्दा ज्यान गुमाउने नेपाली गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ ।
नेपाली राजदूतावास, अबुधाबीले आज एक विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएको हो ।
सयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत नेपाली नागरिक दिबस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दुःखद निधन भएको बारेमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको विज्ञप्तिमा भनिएको छ ।
श्रेष्ठको निधनप्रति नेपाली राजदूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।
"दीवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।" विज्ञप्तिमा थप भनिएको छ" परिस्थिति सहज भएपश्चात स्व. श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न नेपाली राजदूतावास तत्पर रहेको व्यहोरा अनुरोध गरिन्छ ।"
संवेदनशील परिस्थितमा यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन तथा युएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरु पूर्णरुपमा पालना गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२