काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले चुनावमा महिला सहभागी बढाउनका लागि मन्त्रालयले आगामी हप्तादेखि विशेष अभियान चलाउने बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल र अर्न्तार्राष्ट्रिय गैरसरकारी संस्था सङ्घ (एआईएन) को संयुक्त आयोजनामा आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले चुनावमा प्रत्यक्षतर्फ ११ प्रतिशत मात्रै महिला उम्मेदवार मैदानमा रहेको भन्दै सबै महिला मतदातालाई मतदानमा सहभागी गराउने योजना सुनाउनुभयो ।
सातै प्रदेशको निर्वाचन तयारीका बारेमा जानकारी लिँदा चुनावमा महिला सहभागिता, अपाङ्गतामैत्री र पहुँचयोग्य मतदानस्थलको सुनिश्चितताका लागि मन्त्रालयले सरोकारवालासँग समन्वय गरिरहेको पनि उहाँको भनाइ थियो ।
‘निर्वाचन अधिकारी, अधिकृतलगायतका सरोकारवालाले महिला सहभागिता, समावेशी र सबैको पहुँच हुने गरी निर्वाचनको तयारी भइरहेको बताएका छन् । चुनावमा महिला मतदाताको सक्रिय सहभागिताका बारेमा विभिन्न १० वटा सन्देश तयार भएको छ ।’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यी सन्देश देशभरका सामुदायिक रेडियोबाट पनि बजाउने गरी अकोराबसँग सहकार्य भएको छ ।’
चुनावमा बालकालिको दुरुपयोग रोक्ने बारेमा पनि सबैले आवाज उठाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
प्रतिनिधि सभाको चुनाव स्वच्छ र सहभागितमूलक बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने सरोकारवाला निकायका प्रतिनिधिले बताए ।
पर्यत्न नेपालका अध्यक्ष सरिता लामाछिानेले फागुन २१ को निर्वाचन पहुँचयुक्त बनाउनुपर्ने र राजनीतिक दल तथा उम्मेदवारहरूले घोषणापत्र सार्वजनिक गर्दा दृष्टिविहीन, श्रवण क्षमता गुमाएकालगायतका अपाण्ज्ञठण््गता भएकाले पनि थाहा पाउने गरी उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।
दृष्टिविहीन व्यक्तिले चाहेकै व्यक्तिलाई भोट दिन सकिने गरी विश्वासको वातावरण बनाउनुपर्ने माग उहाँको थियो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का महासचिव राजु घिमिरेले चुनावको समयमा बालबालिकाको दुरुपयोग रोक्नका लागि राजनीतिक दल, उम्मेदवार तथा नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सिजपले सातै प्रदेशका गरी १ सयभन्दा धेरै बालबालिका सम्बन्धित संस्थामार्फत बालबालिको दुरुपयोग रोक्नका लागि अभियान चलाइएको जानकारी दिँदै उहाँले अकोराबसँग पनि सिजपले सहकार्य गरेर चुनावमा हुने बालबालिकाको दुरुपयोग रोक्न जानकारीमूलक सामग्री प्रकाशन तथा प्रसारण गरिने बताउनुभयो ।
चुनावका लागि एआईको माध्यमबाट पनि बालबालिकाको दुरुपयोग भइरहेको भन्दै महासचिव घिमिरेले दुरुपयोगका घटना भएमा तत्काल उजुरी गर्न सरोकारवालासँग अनुरोध गर्नुभयो ।
कृषक समूह महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठले स्वतन्त्र नागरिकको अधिकार हनन नहुने नगरी अघि बढ्नुपर्ने बेला आएको धारणा राख्नुभयो ।
राजनीतिक दल तथा उम्मेदवारले कृषिको बारेमा घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा महासङ्घले जानकारी तथा ध्यानाकर्षण गराइसकेको उहाँको भनाइ छ । नेपाललाई कृषि प्रधान भनिए पनि यसका बारेमा ऐनकानुन नबनेको र नेपाली उत्पादन कम मूल्यमा किन्ने अनि बाहिरबाट आयात गर्ने अवस्था मुलुककै हितमा नरहेको उल्लेख गर्नुभयो ।
राजनीतिक दल र उम्मेदवारलाई भोट दिनुअघि किन दिने भन्ने बारेमा जानकारी र प्रश्न गर्ने बेला आएको उहाँको भनाइ छ ।
अर्न्ताष्ट्रिय गैरसरकारी संस्था सङ्घ (एआईएन) का अध्यक्ष एसपी कलौनीले निर्वाचन भयरहित र स्वच्छ रूपमा होस् भन्ने एआईएनको चाहाना रहेको उल्लेख गर्दै नागरिक समाजले आवाजविहीनको प्रतिनिधित्व गर्नुपर्ने, जवाफदेहिता, नवप्रर्धन, प्रणली सुधारका लागि पनि परामर्श तथा समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
नागरिक समाजको पुनर्जागरण आवश्यक रहेको उल्लेख गर्दै समुदाय केन्द्रीत भएर नागरिक समाजले काम गर्नुपर्ने विचार राख्नुभयो ।
अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले आगामी चुनावलाई समावेशी र पहुँचयुक्त बनाउनका लागि सरोकारवालासँग सहकार्य गर्दै अघि बढेको जानकारी दिँदै अकोराब र सीआईएनलाई सन्तुलित र तटस्थ बनाउनका लागि हरसम्भवको कोसिस गरिरहने प्रतिबद्धता जनाउनुभयो ।
महिला तथा बालबालिका मन्त्रालयसँगको सहकार्यमा आगामी चुनाव समावेशी बनाउने र महिलाको सहभागिता बढाउनका लागि सन्देशमूलक सामग्री उत्पादन तथा प्रसारणको सहकार्य आजबाटै सुरु भएको जानकारी दिँदै सहकार्य दीर्घकालसम्म रहने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सहभागितालगायतका बारेमा नागरिक समाजको भूमिका र आगामी दिनमा सुधार गर्नुपर्ने पाटोका बारेमा सरोकारवालाबीच छलफल पनि गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२