काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सामुदायिक रेडियो ‘निर्वाचन आचारसंहिता–२०६४ (दोस्रो संशोधन–२०८२)’ को पालना गर्न सबै सदस्य रेडियोहरूलाई अनुरोध गरेको छ ।
आचारसंहिता विश्व रेडियो दिवसको अवसर पारेर काठमाडामा भएको एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले चुनावलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि अकोराबले हरेक निर्वाचनमा सामुदायिक रेडियोका लागि आचारसंहिता सार्वजनिक गर्दै आएको जानकारी दिँदै फागुन २१ को चुनावका लागि पनि आचारसंहिता ल्याइएको बताउनुभयो ।
उहाँका अनुसार निर्वाचन आयोगको आचारसंहिताको पनि सामुदायिक रेडियोले पूर्ण पालना गर्नुपर्छ तर रेडियोकर्मी, रेडियो प्रसारकले के गर्न हुने र के गर्न नहुने स्पष्ट पार्दै रेडियोका विषयवस्तुमा के कस्तो सामग्री प्रसारण तथा प्रकाशन गर्ने भन्ने बारेमा जानकारी दिन आचारसंहिता ल्याइएको हो ।
आचारसंहितामा निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वसनीय बनाउन सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै निर्वाचनसम्बन्धी सामग्री तयार गर्दा निष्पक्षता, तटस्थता र स्वतन्त्रताको सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
मतदाता शिक्षा, बहुलवादको सम्मान तथा सबै पक्षलाई समान अवसर दिनुपर्नेमा पनि जोड दिइएको छ।
समाचार वा सन्देश प्रसारण गर्दा कम्तीमा दुई स्रोतबाट पुष्टि गरेर मात्रै सामग्री सार्वजनिक गर्नुपर्ने, भ्रामक सूचना, मिथ्या खबर र अफवाह नियन्त्रणमा सचेत भूमिका खेल्नुपर्ने आचारसंहितामा उल्लेख छ।
कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोगबाट सिर्जना हुन सक्ने गलत सामग्रीबारे सचेत रहँदै जनचेतना बढाउनुपर्ने भनिएको छ ।
आचारसंहिताले सामुदायिक रेडियो, रेडियोकर्मी वा सञ्चालक कुनै पनि राजनीतिक दल, उम्मेदवार वा तिनका प्रचार संयन्त्रका रूपमा प्रस्तुत हुन नपाउने स्पष्ट पारिएको छ।
अनुमानमा आधारित सामग्री, मतदाताको मनोभाव प्रभावित गर्ने कार्यक्रम सञ्चालन गर्न नपाइने, घृणात्मक अभिव्यक्ति (हेट स्पिच), सामाजिक सद्भाव खल्बलिने सामग्री तथा शान्ति–सुरक्षामा असर पार्ने सामग्री पनि प्रसारण नगर्न भनिएको छ ।
रेडियो कार्यालय वा परिसरमा कुनै दल वा उम्मेदवारको प्रचार सामग्री टाँस्न नपाइने तथा रेडियोकर्मी र सञ्चालकले आफ्नो पदमा रहँदै चुनाव प्रचार अभियानमा संलग्न हुन नपाइने व्यवस्था गरिएको छ।
संघले निर्वाचन आयोगले जारी गरेका मापदण्डअनुसार मात्रै सशुल्क विज्ञापन प्रसारण गर्न सकिने जनाएको छ।
रेडियोका साधन–स्रोत कुनै दल वा उम्मेदवारको प्रचारका लागि प्रयोग गर्न नपाइने तर मतदाता शिक्षाका लागि प्रयोग गर्न सकिने स्पष्ट गरिएको छ।
संघले सबै सदस्य रेडियोलाई आचारसंहिताको पूर्ण पालना गर्दै स्वच्छ, सन्तुलित र विश्वसनीय सूचना प्रवाह गर्न आह्वानसमेत गरेको छ।
आचारसंहिताको पूर्णपाठः


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२