काठमाडौँ । सामुदायिक रेडियोहरूले एआई (कृत्रिम बौद्धिकता) लगायतका प्रविधिसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् ।
विश्व रेडियो दिवसको अवसरमा आज सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा काठमाडौँमा भएको विशेष कार्यक्रममा रेडियोको भविष्य, कृत्रिम बौद्धिकताको प्रभाव, निर्वाचन आचारसंहिता र सञ्चारमाध्यमको जिम्मेवारीलगायतका बारेमा छलफल भएको हो ।
कार्यक्रममा सहभागीहरूले रेडियो सञ्चारको भरपर्दो र प्रभावकारी माध्यम रहेको उल्लेख गर्दै प्रविधिसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।
अकोराबका उपाध्यक्ष दीपु पोखरेलले रेडियो सुन्ने माध्यम परिवर्तन भए पनि यसको विश्वसनियता कायम रहेको बताउनुभयो ।
विकट भूगोल भएका क्षेत्रमा अझैँ पनि रेडियो मुख्य सूचनाको स्रोत भएको उल्लेख गर्दै उहाँले सामुदायिक रेडियोलाई जोगाउन रणनीतिक रुपान्तरण आवश्यक रहेको धारणा राख्नुभयो ।

युनेस्कोका प्रतिनिधि अरुणा जोशीले विश्व रेडियो दिवसको अवसरमा शुभकामना दिँदै युवा पुस्तालाई रेडियोसँग जोड्ने वातावरण निमार्ण गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
रेडियोलाई प्रभावकारी सूचना माध्यमका रूपमा सुदृढ गर्न गैसरकारी निकाय तथा सरकारी निकायका बीचमा समन्वय हुनुपर्ने उहाँको भनाइ थियो ।
एआई एसोसियसनका सदस्य दर्शन पराजुलीले एआई उपकरणहरूले रेडियो सामग्री उत्पादन, सम्पादन र प्रसारणमा निकट भविष्यमा क्रान्ति ल्याउने बताउनुभयो ।
विवरणका आधारमा सामग्री तयार पार्ने, प्रस्तोता अनुपस्थित हुँदा कार्यक्रम सञ्चालन गर्ने तथा बहुभाषिक अनुवादमार्फत फरक समुदायसम्म सूचना पुर्याउने क्षमता एआईमार्फत सम्भव भएको उहाँको भनाइ छ ।

निर्वाचनको समयमा एआईको दुरुपयोग र भ्रामक सूचना फैलिने जोखिमप्रति उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो ।
रेडियोमा रहेको जनशक्तिलाई एआईबारे जानकार र अभ्यस्त बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
बानका अध्यक्ष कुमार भट्टराईले सिर्जनात्मकता र पुस्तागत अनुभवको सम्मान गर्नुपर्ने उल्लेख गर्दै भविष्यमा प्रविधि अझ जटिल र चुनौतीपूर्ण बन्न सक्ने धारणा राख्नुभयो ।
अकोराबका पूर्व अध्यक्ष सुवास खतिवडाले एफएम रेडियोले विविधताको संरक्षण र प्रवद्र्धनमा भूमिका खेलेको बताउनुभयो ।
एआईको दुरुपयोग रोक्दै सकारात्मक प्रयोग गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । फागुन २१ को निर्वाचन सफल पार्न आयोग र रेडियोबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन निष्पक्ष, अनुशासित र निष्ठापूर्वक सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
भड्किएको मुलुकको लय, अनुशासनहिता र युवाको अपेक्षा पूरा गर्न निर्वाचनको विकल्प नभएको उहाँको भनाइ छ ।
उम्मेदवार वा दललाई पक्षपोषण हुने सामग्री नदिन र आचारसंहिता पालना भएको/नभएको बारे जनतालाई जानकारी दिन रेडियोकर्मीको जिम्मेवारी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रेस काउसिन्लका अध्यक्ष डा. कुमार शर्मा आचार्यले सामग्री दर्शकमैत्री र सकारात्मक हुनुपर्नेमा जोड दिँदै समयअनुसार परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
रेडियोको उचाइ बढाउन श्रोतालाई चिन्नु महत्वपूर्ण रहेको उहाँको धारणा थियो । अकोराबका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो आन्दोलनमा चुनौतीहरु कायम रहेको स्वीकार गर्दै समाधानका उपाय पहिल्याउने बारेमा छलफल भइरहेको बताउनुभयो ।
सूचनाको तथ्य जाँचमा काम गर्ने निकायहरूसँग सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आचारसंहिता बारे अनभिज्ञलाई सचेत गराउन सबैलाई आफ्नो प्लेटफर्म प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलगायतका अतिथिबाट अकोराबले सामुदायिक रेडियोका लागि तयार पारेको निर्वाचन आचारसंहिता २०८२ सार्वजनकि गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२