काठमाडौँ । नेपाल आयल निगमले गएरातिदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ भने हवाइ इन्धनको भाउ घटाएको छ ।
डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएका कारण मूल्य समायोजन गरेको निगमले जानकारी गराएको हो ।
पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत् रहेको छ ।
पेट्रोल र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको निगमको भनाइ छ । आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र ग्याँसमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँले मूल्य बढेर आए पनि निगमले यसमा कुनै फेरबदल नगरेको बताएको हो ।
निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०८२