काठमाडौँ । बैतडीमा यसवर्षकै पहिलो हिउँदे पानी परेको छ ।
लामो खडेरीका कारण गहुँलगायत हिउँदेबाली सुक्नथालेपछि चिन्तित बनेका यहाँका किसानलाई गएराति हिउँ र पानी परेपछि किसानलाई राहत भएको हो ।
यहाँका उच्च लेकाली भेग खोड्पे, श्रीभावर, बाझपानी सत्बाझ, देहिमाण्डौलगायत क्षेत्रमा हिउँ परेको छ भने अन्य क्षेत्रमा पानी परेको छ ।
चार महिनापछि हिउँ र पानी परेपछि थोरै भए पनी राहत मिल्ने पाटन नगरपालिका-१० का किसान दलबहादुर बिष्टले बताउनुभयो । लामो खडेरीपछि पानी परेको छ", उहाँले भन्नुभयो "गहुँ, जौलगायतका हिउँदेबाली सप्रिनेछ ।"
यहाँका अधिकांश जमिनमा आकासे पानीको भरमा खेती हुने गरेको छ ।
"असोजपछि वर्षा भएको थिएन । शुक्रबार राति हिमपात र वर्षा भएको छ ।" सिगास गाउँपालिका-९ का स्थानीय लक्ष्मी शाह चन्दले भन्नुभयो "यसले हिउँदेबाली र तरकारी सप्रिने भएपछि किसानहरू खुशी भएका छौँ।"
बैतडीसहित सुदूरपश्चिमका उच्चलेकाली भेगहरूमा हिमपात भएको छ ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०८२