काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ३४ सय ८४ उम्मेदवार चित्त नबुझेमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले तय गरेको कार्यतालिका अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ ।
सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिकामा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२