मुगु । पत्रकार खड्क सुनार सम्मानित हुनुभएको छ ।
विकास, सुशासन, मुगुका स्थानीय संस्कृतिको संरक्षणका लागि कलम चलाउँदै आउनुभएका सुनारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मुगुको आयोजनामा भएको माघी पर्व विशेष कार्यक्रममा सम्मान गरिएको हो ।
कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जित बहादुर मल्लले सम्मानपत्र प्रदान गर्दै सुनारलाई सम्मान गर्नुभएको हो ।
पछिल्लो समयमा हराउँदै गएका मुगेली लोक संस्कृतिलाई उजागर गर्न सञ्चारमाध्यमबाट खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मुगुका अध्यक्ष सम्भव सुनारले बताउनुभयो ।
विभिन्न माध्यमबाट सहयोग गर्ने अरु व्यक्तिहरूलाई पनि सम्मान गरिएको छ ।
पत्रकार सुनार सामुदायिक रेडियो मुगुमा समाचार प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ भने सामुदायिक सूचना नेटवर्क (सीआईएन) मा पनि रिपोर्टिङ गर्नुहुन्छ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२