काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको भूमिका, चुनौती र भावी रणनीति विषयक अन्तरक्रिया तथा गोष्ठी सकिएको छ ।
२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनले २५औँ वसन्त पार गर्दा केवल उत्सवको रुपमा नभई विगतमा भए गरेका कामकारवाहीको उपलब्धि, भावी रणनीति तथा चुनौतीहरुका बारेमा छलफल गरी आगामी दिनहरुमा थप प्रभावकारी रुपमा अगाडी बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
सकल दर्जाले मुलुकप्रति बफादार, आम जनताको सेवा, सङ्गठनको हित र बर्दिको शान हुने गरी कार्य गर्नसमेत उहाँले निर्देशन पनि दिनुभयो ।
अन्तर्राष्ट्रिय खुल्ला सीमानामा नियमित गस्ती, लागूऔषध बेचविखन तथा ओसार पसार नियन्त्रण, तस्करी, आपराधिक गतिविधि नियन्त्रण समेत सशस्त्रले गर्दै आएको उहाँको भनाइ छ ।
अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले बहुआयामिक रुपमा विपद् व्यवस्थापनका क्षेत्रमा प्रविधि तथा स्रोतसाधन सम्पन्न भई विपद् प्रतिकार्यमा भन्दापनि पूर्व तयारीमा बढि जोड दिन आवश्यक तथा समुदाय र सम्बन्धित सबै सरोकारवाला निकायहरुसँगको सहकार्य र समन्वयमा कार्य गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सुरक्षाबिद् डा.ईन्द्र अधिकारीले विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन पूर्व तयारी र सहि सूचनाका साथसाथै सशस्त्र प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई संरचनात्मक बिकास गर्न र उच्च भू–भाग क्षेत्रमा उद्धार कार्यको लागि हेलिकप्टरको समेत व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक डा.गोविन्द प्रसाद थापाले सुरक्षा तथा विपद् व्यवस्थापनसँग सम्बन्धित यस्ता अन्तरक्रिया कार्यक्रम अत्यन्तै आवश्यक रहेको साथै यस क्षेत्रमा सरकार र समुदाय दुवैको ठुलो भूमिका हुने भएकोले सशस्त्र प्रहरी बल नेपालले समुदायस्तरमै यससँग सम्बन्धित तालिम, अनुशिक्षणका कार्यक्रमहरु संचालन गर्दै समन्वयात्मक ढंगमा कार्य गर्दै आईरहेको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०८२